३१ भदौ २०८३, बुधबार | Wed Sep 16 2026

चिनी अभावको हल्लाबीच सरकारको स्पष्टीकरणः पर्याप्त छ, सञ्चय नगर्नुस्

३१ भदौ, काठमाडौं । सरकारले देशभर चिनीको अभाव नरहेको स्पष्ट पारेको छ। बाढीपहिरो तथा भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएका कारण चाडपर्वमा अत्यावश्यक खाद्यवस्तु चिनीको अभाव हुने भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि सरकारले यस्तो स्पष्टीकरण दिएको हो।

 वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकामा प्रतिकिलो १ सय १० रुपैयाँमा चिनी बिक्री–वितरण भइरहेको दाबी गरेको हो । १० भदौमा भोटेकोशी नदीमा आएको बाढी र पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोका कारण बाटो अवरुद्ध भएको र भारतले चिनी निकासीमा प्रतिबन्ध लगाएको कारण देखाउँदै बजारमा चिनी अभाव गराइएको र महँगोमा बेचिरहेको समाचार सार्वजनिक भएका थिए । तर, विभागले बजारमा चिनीको कुनै अभाव नरहेको दाबी गरेको छ ।

dainiki.com

विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा भदौ ३० गते सम्बन्धित सरोकारवालासँग भएको बैठकमा काठमाडौं उपत्यकाका भाटभटेनी, बिगमार्ट, सेल्सबेरीलगायतका एक सयभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो ११० रुपैयाँमा चिनी सर्वसुलभ रूपमा बिक्री वितरण भइरहेको जानकारी गराइएको थियो।

 विभाग प्रवक्ता अनिल किराँतीले अब उपभोक्ताले भाटभटेनी, बिग मार्ट, सेल्सबेरी सहित काठमाडौं उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकिलो १ सय १० रुपैयाँमै सर्वसुलभ रूपमा चिनी खरिद गर्न सक्ने बताए । विभागले चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको जनाउँदै आम उपभोक्तालाई अनावश्यक रूपमा चिनीको सञ्चय नगर्नसमेत अनुरोध गरेको छ।

प्रकाशित मिति : September 16, 2026 at 5:26 pm