घोषित मितिमै खुल्यो कृष्णभीरको नयाँ ट्रयाकः असोज १ गतेदेखि दुईतर्फी यातायात सञ्चालन हुने
३० भदाै, काठमाडाैं । पृथ्वीराजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा पहिरोका कारण अवरुद्ध सडकको नयाँ ट्रयाक खोल्ने काम प्रधानमन्त्रीले घोषणा गरेकै मितिभित्र सम्पन्न भएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी विवरण गत भदौ १७ गते प्रतिनिधिसभामा दिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले कृष्णभीरको अवरुद्ध सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने घोषणा गरेका थिए।
प्रधानमन्त्रीको उक्त घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा युद्धस्तरमा काम अघि बढाई भदौ २८ गतेदेखि नै परीक्षणका रूपमा यातायात सेवा सुरु गरिएको छ। हाल सडकलाई थप सुरक्षित र व्यवस्थित बनाउने काम भइरहेको र आगामी असोज १ गते बिहीबार बिहानदेखि दुईतर्फी रूपमै नियमित यातायात सञ्चालन गरिने मन्त्रालयले जनाएको छ।
गत भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले पर्खाल पूर्ण रूपमा भत्काएपछि राजमार्गमा यातायात सेवा ठप्प बनेको थियो। त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूको सहयोगमा चार दिनसम्म द्रुत अध्ययन गरेको थियो। विज्ञ टोलीले पहिरोग्रस्त क्षेत्रको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउनु नै सबैभन्दा उपयुक्त विकल्प भएको सुझाव दिएको थियो।

विज्ञहरूको सुझावका आधारमा भदौ १९ गतेदेखि रुख कटान सुरु गरी ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर नयाँ ट्रयाक निर्माण गरिएको हो। निर्माण कार्यलाई तीव्रता दिन प्राविधिकसहित ५० जनाको टोलीले दैनिक १२ देखि १६ घण्टासम्म निरन्तर काम गरेको थियो। पूर्वाधार विकासमन्त्री सुनिल लम्साल स्वयं कार्यक्षेत्रमा खटिएर समन्वय गरेका थिए।
निरन्तरको प्रयासपछि काम सुरु भएको १०औँ दिन अर्थात् भदौ २८ गतेदेखि नयाँ ट्रयाकमा परीक्षणका रूपमा ग्यास बुलेटसहित केही सवारीसाधन सञ्चालन गरिएको थियो। त्यसयता बिहान र बेलुकाको समयमा अत्यावश्यक सवारीसाधन आवतजावत गराइँदै आएको छ।
हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने अन्तिम चरणका कामहरू भइरहेका छन्। भोलिसम्म ग्राभेलको काम पूरा हुने र असोज १ गते बिहानदेखि सबै प्रकारका सवारीसाधनका लागि दुईतर्फी यातायात पूर्ण रूपमा खुला गरिनेछ।
प्रकाशित मिति : September 15, 2026 at 5:50 pm


