सरुवा भएका कर्मचारीलाई तोकिएको समयमै रमाना दिन सरकारको निर्देशन
२० भदौ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ ।
मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साविककै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालयबाट तलबभत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछी सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो ।
मन्त्रालयले मंगलबार सबै मन्त्रालय, आयोग, सचिवालय, सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई सम्बन्धित निकायमा हाजिर गराउन निर्देशन दिएको हो ।

निजामती सेवालाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउन सरुवा भएका कर्मचारीलाई निजामती सेवा ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० बमोजिम तोकिएको अवधिभित्र रमाना दिनुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमाना नदिने, विभिन्न बहानामा साविककै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलबभत्ता भुक्तानी गर्ने गरेको पाइएको छ । यसका कारण स्थानीय तहमा जनशक्ति अभाव भई सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना भएको मन्त्रालयको भनाइ छ ।
निजामती सेवा नियमावली, २०५० को नियम ३८ को उपनियम २ को खण्ड (ग) बमोजिम सरुवा भएको कर्मचारीलाई तोकिएको म्यादभित्र रमाना नदिई साविककै कार्यालयबाट तलबभत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको तलबभत्ता रमाना नदिने कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलउपर गरिने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ ।

प्रकाशित मिति : September 15, 2026 at 5:28 pm


