१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकालाई श्रद्धाञ्जली दिन राष्ट्रपति भण्डारी टुँडिखेल जाने

१६ फागुन, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनु भएका सातै जनालाई श्रद्धाञ्जली अर्पण गर्न राष्ट्रपति बिद्यादेवी भण्डारी टुडिखेल आउनु हुने भएको छ । मुलुकले एक होनहार नेतासहित हवाइ उड्ययन क्षेत्र र पर्यटन क्षेत्रका बिशिष्ट ब्यक्त गुमाउनु परेको महसुस गरी राष्ट्रपति भण्डारी आफै टुडिखेलमा श्रद्धाञ्जलीका लागि आउनु हुने भएको हो ।

‘सम्मानीयज्यू टुडिखेलमै पुगेर मन्त्री अधिकारीसहित सवैलाई श्रद्धाञ्जली अर्पण गर्ने तय भएको छ, उहाँ श्रद्धाञ्जलीका लागि टुडिखेल आउनु हुन्छ,’ शीतलनिवासका एक अधिकारीले भने । ती अधिकारीका अनुसार राष्ट्रपति अत्यन्तै पीडादायी महसुस गरी सर्वसाधरणका लागि तय गरिएको स्थानमै श्रद्धाञ्जलीका लागि आउन लाग्नुभएको हो ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति भण्डारी भोलि बिहान सवा ८ बजे श्रद्धाञ्जलीका लागि टुडिखेल आउनु हुने जनाएको छ । त्रिबि शिक्षण अस्पतालमा सात वटै शवको पोष्टमार्टमको काम नसकिएपछि आज दिउसो तय गरिएको श्रद्धाञ्जली सभा भोलि बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ ।

भोलि नै ११ बजेसम्म टुडिखेलमा श्रद्धाञ्जली अर्पण गरेपछि मन्त्री अधिकारीको पार्थिव शरीर गृहनगर पोखरा लगिने छ । खरामाश्रद्धाञ्जलीपछि भोलि नै उहाँको अन्त्यष्टी गरिने कार्यक्रम तय भएको छ । यता टुडिखेलमा श्रद्धाञ्जली अर्पणपछि अधिकारीसहित सातै जनाकोपरिवारको इच्छा अनुसार अन्त्यष्टीका लागि आवश्यक ब्यवस्था गर्ने जानकारी सरकारले दिइसकेको छ ।

उपप्रधानमन्त्री इश्वर पोखरेलले आज सरकारलेपरिवारको चाहना अनुसार जहाँ अन्त्यष्टी गर्न चाहेको हो, सोही ठाउँमा लैजान सरकारले सघाउने जानकारी दिइसक्नुभएको छ ।

हिजो भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो । देशका होनहार ब्यक्तिहरु दुर्घटनामा निधनको खवरपाएलगत्तै राष्ट्रपति भण्डारीले ट्वीट गर्दै दुख ब्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार २२:१६