२९ भदौ २०८३, सोमबार | Mon Sep 14 2026

१५ हजार घुस लिने वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

२९ भदाै, काठमाडौँ । सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिने भन्दै १५ हजार रुपैयाँ घुस लिएको आरोपमा उदयपुरका वन अधिकृत भुवन पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उदयपुरको त्रियुगा नगरपालिका–१० स्थित डिभिजन वन कार्यालय, उदयपुरको योजना शाखा प्रमुख तथा सातौँ तहका वन अधिकृत पौडेललाई अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले सेवाग्राहीबाट १५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अख्तियारका अनुसार सामुदायिक वन उपभोक्ता समितिको काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस पत्र दिने प्रयोजनका लागि पौडेलले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरीका आधारमा टोली परिचालन गरिएको थियो।

अनुसन्धानका क्रममा पौडेलले आफ्नो पदीय जिम्मेवारीअन्तर्गत गर्नुपर्ने काठको लगत समर्थन तथा लिलाम सहमति सिफारिस गरिदिएबापत सेवाग्राहीसँग घुस मागेको, अनावश्यक दुःख–हैरानी दिएको र नियतबस आलटाल गरी बदनियतपूर्ण रूपमा १५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको दाबी छ।

पौडेलको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको भन्दै अख्तियारले १५ हजार रुपैयाँलाई बिगो कायम गरेको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद तथा सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबराबर जरिवाना सजायको मागदाबी गरेको छ।

उक्त मागदाबीका साथ अख्तियारले सोमबार पौडेलविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

प्रकाशित मिति : September 14, 2026 at 4:09 pm