२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

के छ बुवाको मुख हेर्ने दिनमा नबिल बैंकले सार्वजनिक गरेको भिडियोमा ?

२६ भदाै, काठमाडौं । एउटा बुबाले छोरालाई काखमा च्यापेका छन्। छोराको अनुहार हेर्दै उनी मनमनै अनेकौँ सपना बुन्छन्-छोराले पहिलोपटक  ‘बाबा’ भन्ला, पहिलोपटक स्कुल जाँदा रोला, नयाँ लुगा लगाएर खुसी होला। हरेक बुबाले आफ्ना सन्तानका लागि देख्ने यस्तै सामान्य सपनाहरू उनका पनि थिए।

तर समय बित्दै गयो। छोरा हुर्कँदै गयो। अरू बालबालिकाले बोल्न, खेल्न र मानिसहरूसँग घुलमिल हुन थाले। उनका छोराको संसार भने फरक थियो। घरमा पाहुना आउँदा ऊ लुक्छ। कसैले बोलाउँदा प्रतिक्रिया जनाउँदैन। ठूलो आवाज सुन्नासाथ आत्तिन्छ र दुवै हातले कान थुन्छ। एक्लै कोठमामा गएर बस्छ । उसलाई भीडभाड र ठूला आवाज असह्य हुन्छ । भिडियोमा उनका बुवाले सम्झन्छन्, ‘मान्छेहरू आउँदा लुक्थ्यो । कसैले बोलाउँदा हेर्दैनथ्यो । भीड भयो भने कान थुनेर बसिहाल्थ्यो । अनि मान्छेहरू बच्चासँगै बाबु-आमालाई पनि जज गर्न थाल्थे…।’

बुबाका लागि त्यो अवस्था बुझ्न सजिलो थिएन। त्यसमाथि समाजका प्रश्न र टिप्पणीले उनको पीडा झन् थपिन्थ्यो। ‘मान्छेहरू आउँदा लुक्थ्यो। कसैले बोलाउँदा हेर्दैनथ्यो। भीड भयो भने कान थुनेर बसिहाल्थ्यो। अनि मान्छेहरू बच्चासँगै बाबु–आमालाई पनि जज गर्न थाल्थे,’ उनले भिडियोमा आफ्नो अनुभव सुनाएका छन्।

कहिलेकाहीँ छोराको व्यवहार देखेर उनी डराउँथे पनि। आखिर किन अरू बालबालिकाजस्तो छैन उसको व्यवहार ? किन बोल्दैन ? किन भीडदेखि डराउँछ ? किन ठूलो आवाज सहन सक्दैन ? तर समयसँगै उनले छोरालाई बदल्ने होइन, छोराको संसार बुझ्ने प्रयास गर्न थाले।

‘मेरो छोरो अटिस्टिक हो, तर उ पनि एउटा सामान्य बच्चा नै हो। उ संसारलाई फरक तरिकाले महसुस गर्छ। आवाज उसलाई ठूलो लाग्छ, भीड उसलाई भारी लाग्छ। भावना उसले शब्दमा भन्न सक्दैन, तर म जान्दछु उसको माया साँचो छ,’  छोरालाई हेर्दै बुवा सम्झिरहेका हुन्छन् ।

dainiki.com

त्यसपछि उनका लागि छोराको ‘फरकपन’ समस्या रहेन। बरु त्यो छोरालाई बुझ्ने नयाँ बाटो बन्यो। भिडियोमा बुबाले छोराप्रतिको माया र चाहना देखाउँदै भन्छन्, पहिले म चाहन्थेँ उ संसार जस्तो बनोस्, तर अहिले म संसारलाई उसको लागि अलिक राम्रो बनाउन चाहन्छु । उसने मलाई ‘बाबा’ धेरैपटक भन्न सक्दैन होला, तर जब उ मेरो हात समात्छ, मलाई लाग्छ संसारकै सबैभन्दा ठूलो शब्द त्यही हो ।

यही भावलाई केन्द्रमा राखेर नबिल बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा भावनात्मक भिडियो सार्वजनिक गरेको छ। भिडियोले अटिजम भएका बालबालिकाको अवस्था मात्र देखाउँदैन, उनीहरूलाई हुर्काइरहेका अभिभावकले भोगिरहेको मानसिक र सामाजिक दबाबलाई पनि उजागर गर्छ।

अटिजम भएका बालबालिकाले बोल्ने, सिक्ने, प्रतिक्रिया जनाउने वा भावना व्यक्त गर्ने तरिका अरूभन्दा फरक हुन सक्छ। समाजले ‘सामान्य’ मानेको व्यवहार उनीहरूमा नदेखिन सक्छ। त्यसैले उनीहरूलाई बुझ्न र हुर्काउन अभिभावकलाई थप धैर्य, समय, हेरचाह र संवेदनशीलता आवश्यक हुन्छ।

तर चुनौती सन्तानको अवस्थाबाट मात्रै आउँदैन। कहिलेकाहीँ समाजको नजर नै अभिभावकका लागि सबैभन्दा ठूलो चुनौती बन्न पुग्छ। बच्चाले किन बोल्दैन ? किन लुक्छ ? किन अरूसँग घुलमिल हुँदैन ? किन कान थुन्छ ? यस्ता प्रश्नसँगै आउने अनावश्यक टिप्पणी र मूल्यांकनले अभिभावकलाई थप पीडा दिन सक्छ। नबिलको भिडियोले यही सामाजिक व्यवहारमाथि पनि प्रश्न उठाएको छ। अटिजमलाई कमजोरीका रूपमा होइन, संसारलाई फरक ढंगले बुझ्ने र महसुस गर्ने अवस्था रूपमा बुझ्नुपर्ने सन्देश भिडियोले दिएको छ।

अटिजम भएका बालबालिकालाई दया होइन, बुझाइ र स्वीकार्यता चाहिन्छ। उनीहरूलाई समाजको निश्चित ढाँचामा जबर्जस्ती फिट गराउने होइन, उनीहरूको फरक संसारलाई पनि समाजको हिस्सा मान्नुपर्ने सन्देश भिडियोले दिन खोजेको छ। सन्तानका सपनालाई आफ्नै सपना बनाउने, सन्तान लड्दा हात समाउने, आफू थाकेर पनि सन्तानका लागि बलियो भएर उभिने बुबाको भूमिकालाई भिडियोले मार्मिक रूपमा प्रस्तुत गरेको छ।

भिडियो सेयर गर्दै नबिल बैंकले भनेको छ,’सन्तानका सपनालाई आफ्नो सपना बनाउने, सन्तान लड्दा हात समाउने, र आफू थाकेर पनि सन्तानका लागि सधैँ बलियो भएर उभिने बुबा केवल एउटा सम्बन्ध होइन, जीवनभरको भरोसा हुनुहुन्छ । त्यो निस्वार्थ माया, साथ र भरोसाका लागि सम्पूर्ण बुबाहरूलाई नमन । बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ।’

प्रकाशित मिति : September 11, 2026 at 2:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/