ओमानमाथि नेपालको शानदार जित
२५ भदौ, काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमान विरुद्ध शानदार जित हासिल गरेको छ । नेपालले ओमानलाई ८७ रनले पराजित गरेको हो । नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमा अलआउट भयो ।
जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए । जितेन रामानन्दीले १३ रन बनाए । नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ विकेट लिए भने रोहित पौडेल र ललित राजवंशीले २-२ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए । बसिर अहमदले ४७ रन बनाए । नेपाल ३६-४ को संकटपूर्ण अवस्थामा हुँदा दीपेन्द्र र बसिर मिलेर ९३ रनको साझेदारी गरेका थिए ।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए । अन्य ब्याटरबाट दोहोरो अंकमा रन बन्न सकेन । नेपालले २३ रनमा पहिलो विकेट गुमाएर ३६-४ को अवस्थामा पुगेको थियो भने त्यसपछि १२९-५ हुँदै १४७ रनमा अलआउट नै भयो ।
ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन मात्र दिएर ३ विकेट लिए । हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए । मुहम्मद इमरानले २ विकेट लिँदा शकील अहमद र मुजिबुर अलीले १-१ विकेट लिए ।
जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ । फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।
प्रकाशित मिति : September 10, 2026 at 1:00 pm


