सर्वोच्चका न्यायाधीश रेग्मी र अख्तियार प्रमुख राईविरुद्ध महाभियोगको सूचना दर्ता
२५ भदौ, काठमाडौं। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउन माग गर्दै संघीय संसद् सचिवालयमा सूचना दर्ता भएको छ ।
शंकर रजकले रेग्मी र राईमाथि महाभियोग प्रस्ताव अघि बढाउन माग गर्दै सचिवालयमा सूचना दिएका हुन्। सचिवालय स्रोतले केही साताअघि नै उक्त सूचना दर्ता भएको जनाएको छ। नेपालको संविधानको धारा १०१ अनुसार संवैधानिक पदाधिकारीविरुद्ध कुनै पनि व्यक्तिले महाभियोगको सूचना दिन सक्ने व्यवस्था छ। कम्तीमा तीन जना सांसदले त्यस्तो सूचनालाई प्रमाणित गरेपछि महाभियोग सिफारिस समितिले छानबिन अघि बढाउन सक्ने प्रावधान छ।

छानबिनपछि महाभियोग प्रस्ताव अघि बढाउन प्रतिनिधिसभाका तत्काल कायम सदस्य संख्याको कम्तीमा एक चौथाइ सांसदको समर्थन आवश्यक हुन्छ। प्रस्ताव पारित हुन भने दुई तिहाइ बहुमत चाहिन्छ।महाभियोगको सूचनामा परेका न्यायाधीश रेग्मी सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछिको तेस्रो वरीयतामा छन्। प्रमुख आयुक्त राई यसअघि पनि विभिन्न विवादमा जोडिएका थिए। उनी आगामी माघमा अवकाश हुँदैछन्।
प्रकाशित मिति : September 10, 2026 at 10:02 am


