२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

चिलिमे सुरुङमा उद्धार तीव्र, फसेकाको जीवितै उद्धार हुने आशा

२३ भदौ, काठमाडाैं । रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा थुनिएका व्यक्तिहरूको उद्धार कार्य तीव्र पारिएको छ । आयोजना स्थलमा खटिएका इन्जिनियर श्रीराम न्यौपानेका अनुसार  हाल सुरुङभित्र करिब ९० मिटर दूरी पार गरी करिब २०० मिटर अगाडि रहेको पावरहाउस क्षेत्रसम्म पुग्ने प्रयास तीव्र पारिएको हो ।  सुरुङभित्रको पावरहाउस क्षेत्रमा सुरक्षित स्थान रहेको र त्यहाँ खाद्यान्नको समेत उपलब्धता भएकाले थुनिएका व्यक्तिहरू जीवितै फेला पर्ने उच्च सम्भावना देखिएको उनले बताएका छन् ।

dainiki.com

सुरुङको डिजाइन र संरचनालाई विश्लेषण गर्दा पावरहाउस करिब ६० मिटर लामो, २५ मिटर उचाइ र २० मिटर चौडाइको रहेको छ । हाल सुरुङभित्र लेदो मिसिएको पानीको सतहको अवस्था हेर्दा पावरहाउसको माथिल्लो भागमा २ देखि ८ मिटरसम्म खुला सुरक्षित स्थान रहने अनुमान छ । ‘पावरहाउसको माथिल्लो भागमा चामल, पानी, चिनी, चिया र ब्याट्री लगायतका अत्यावश्यक सामग्रीहरू रहेको जानकारी प्राप्त भएको छ,‘ न्यौपानेले भने, ‘यदि सबै व्यक्तिहरू उक्त स्थानसम्म पुग्न सफल भएका छन् भने उनीहरू सुरक्षित अवस्थामा रहेको हाम्रो विश्वास छ।’

 हालसम्म उद्धार टोलीले सुरुङभित्र ९० मिटरको दूरी पार गरिसकेको छ । बाँकी दूरी पार गरी भोलिसम्ममा एक्स्काभेटरलाई पावरहाउसको पहुँच मार्गसम्म पुर्‍याउने लक्ष्य राखिएको न्यौपाने जनाएका छन्।उनका अनुसार सुरुङभित्र थुनिएको अवस्थामा अक्सिजन र हावाको गुणस्तर सबैभन्दा महत्त्वपूर्ण हुन्छ । यदि पानी उपलब्ध छ र शारीरिक गतिविधि कम गरेर ऊर्जा बचत गरिएको छ भने खाना बिना पनि शरीरले १४ दिन वा सोभन्दा बढी समयसम्म बाँच्न सक्ने क्षमता राख्छ ।

प्रकाशित मिति : September 8, 2026 at 6:06 pm