२३ भदौ २०८३, मंगलबार | Tue Sep 8 2026

त्रिशूली अस्पतालको सेवा तल्लो पिपलटारबाट पनि

२३ भदाै, नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली नदी वारि र पारिको सम्बन्ध विच्छेद भएको १४ दिन पुग्दा त्यसको प्रत्यक्ष असर स्वास्थ्य सेवामा समेत परेको छ। त्रिशूली अस्पताल नदीपारि रहेकाले वारिका बिरामीलाई उपचारका लागि अस्पताल पुग्न समस्या भएपछि अस्पतालले वैकल्पिक स्थानबाट सेवा सुरु गर्ने भएको छ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र लामाका अनुसार त्रिशूली नदीमा यातायात सञ्चालनको विकल्पका रूपमा बेली ब्रिज निर्माण नभएसम्म वारिका सेवाग्राहीलाई अस्पतालसम्म पुगेर उपचार लिन कठिन हुने अवस्था देखिएको छ। त्यसलाई ध्यानमा राख्दै अस्पतालले विदुर नगरपालिका वडा नम्बर ५ को तल्लो पिपलटारस्थित आयुर्वेद तथा वैकल्पिक औषधालयबाटै स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था मिलाएको हो।

अस्पतालले भदौ २३ गतेदेखि तल्लो पिपलटारस्थित बागमती प्रदेश सरकार, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक औषधालयमा दुई जना मेडिकल अधिकृतसहितको स्वास्थ्यकर्मीको टोली खटाएर सेवा सुरु गर्ने जनाएको छ।

डा. लामाका अनुसार उक्त स्थानबाट ओपीडी (बहिरंग) र आईपीडी (अन्तरंग) सेवा सञ्चालन गरिनेछ। त्रिशूली अस्पतालसम्म पुग्न नसक्ने त्रिशूली वारिका बिरामीलाई उपचार सेवाबाट वञ्चित हुन नदिन वैकल्पिक रूपमा सेवा सञ्चालन गर्न लागिएको हो।

भोटेकोशीमा आएको विनाशकारी बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै वारि–पारिको यातायात तथा आवतजावतसमेत प्रभावित बनाएको छ। नदीमाथिको नियमित आवागमन अवरुद्ध भएपछि त्रिशूली अस्पतालमा उपचारका लागि जाने सेवाग्राहीको पहुँचमा समेत गम्भीर समस्या उत्पन्न भएको छ।

अस्पतालका अनुसार बेली ब्रिज निर्माण भई नियमित यातायात सञ्चालनमा नआएसम्म वैकल्पिक स्थानबाट स्वास्थ्य सेवा निरन्तरता दिने प्रयास गरिएको हो। यसबाट विशेषगरी त्रिशूली वारि रहेका बिरामीलाई उपचारका लागि नदी पार गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ।

बाढी र त्यसपछिको अवरुद्ध यातायातका कारण नागरिकको स्वास्थ्य सेवामा पहुँच प्रभावित भइरहेका बेला अस्पतालले अपनाएको यो वैकल्पिक व्यवस्थाले तत्कालका लागि ठूलो राहत पुग्ने देखिएको छ।

अस्पताल प्रशासनले सेवा सञ्चालनका लागि आयुर्वेद तथा वैकल्पिक औषधालयसँग समन्वय गरिएको जनाउँदै सम्पूर्ण सेवाग्राही तथा सरोकारवालालाई नयाँ व्यवस्थाबाट स्वास्थ्य सेवा लिन आग्रह गरेको छ।

प्रकाशित मिति : September 8, 2026 at 7:22 am