२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

किस्पाङका बाढीपीडितलाई तत्काल राहत : मृतक र बेपत्ताका परिवारलाई ३० हजार

२२ भदाै, नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकाले बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनेदेखि विस्थापितको आवास तथा बालबालिकाको संरक्षणसम्मका विभिन्न निर्णय गरेको छ।

अध्यक्ष वीरबल तामाङको अध्यक्षतामा गाउँपालिकास्तरीय विपद् व्यवस्थापन समिति र गाउँ कार्यपालिकाको भदौ २१ गते बसेको संयुक्त बैठकले बाढीबाट मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई तत्काल राहतस्वरूप प्रतिव्यक्ति ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उपाध्यक्ष अर्जुनप्रसाद न्याैपानेले जानकारी दिए । पालिकाले प्रारम्भिक रूपमा संकलन गरेको तथ्यांक वडा कार्यालयमार्फत रुजु तथा प्रमाणित भएपछि राहत उपलब्ध गराइनेछ।

त्यस्तै, किस्पाङ गाउँपालिकामा स्थायी ठेगाना भएका र बाढीका कारण घरबारविहीन भई बस्ने घरसमेत नभएका परिवारलाई तत्कालका लागि मासिक ४ हजार रुपैयाँका दरले तीन महिनासम्म उपलब्ध गराउने निर्णय गरिएको छ ।

गाउँपालिकाले बाढीका कारण आमा–बुवा गुमाएका बालबालिकाको संरक्षणका लागि त्रिभुवन माध्यमिक विद्यालय, अर्चलेमा बाल स्याहार केन्द्र सञ्चालन गर्ने भएको छ । उक्त केन्द्रमार्फत बालबालिकालाई गाँस, बास, मनोरञ्जनसहित आवश्यक अभिभावकत्व प्रदान गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत केदारप्रसाद खतिवडाले बताए ।

किस्पाङ गाउँपालिकामा कार्यरत राष्ट्रसेवक कर्मचारी तथा शिक्षक बाढीका कारण बेपत्ता वा मृत्यु भएको अवस्थामा पनि उनीहरूका परिवारलाई तत्काल राहतस्वरूप प्रतिमृतक तथा बेपत्ता ३० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ।

बाढीका कारण क्षतिग्रस्त तुप्चे–सोले–सातदोबाटो सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक समन्वय गर्दै गाउँपालिकाले पहल गर्ने निर्णय गरेको छ। वैकल्पिक मार्गका रूपमा रहेको तुप्चे–चेम्पेश्वारा–चिलाउने सडकअन्तर्गत चेम्पेश्वारामा ह्युम पाइप व्यवस्थापन तथा सडक मर्मतको काम अघि बढाइने भएको छ।

पालिकाभित्र यातायात सञ्चालनलाई सहज बनाउन अर्चले–चाम्पानी सडकलगायत अन्य सडकको मर्मत तथा सुधार कार्यसमेत अघि बढाउने निर्णय गरिएको छ।

यसैगरी, किस्पाङ गाउँपालिकाभित्र घर भएका तर बाढीका कारण अन्यत्र विस्थापित भएका परिवारलाई न्यूनतम जीविकोपार्जनका लागि आवश्यक व्यवस्थापन गर्ने निर्णय गरिएको छ। त्यस्ता परिवारलाई कोठा तथा आवश्यक सामानसहितको व्यवस्थापन गरिने गाउँपालिकाले जनाएको छ।

किस्पाङ गाउँपालिकाभन्दा बाहिर स्थायी ठेगाना भएका र तत्काल आफ्नो पालिका फर्कन नसक्ने विस्थापितका लागि अस्थायी होल्डिङ सेन्टरलाई निरन्तरता दिने निर्णय पनि गरिएको छ। होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई न्यूनतम गाँस र बासको व्यवस्था गरिनेछ।

बाढी तथा पहिरोबाट किस्पाङ गाउँपालिकाका विभिन्न बस्ती तथा सडक संरचनामा ठूलो क्षति पुगेपछि गाउँपालिकाले तत्काल राहत, पुनःस्थापना र यातायात तथा आधारभूत सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर यी निर्णय गरेको जनस्वास्थ्य निरीक्षक विनोद न्याैपानेले बताए ।

प्रकाशित मिति : September 7, 2026 at 6:26 pm