२२ भदौ २०८३, सोमबार | Mon Sep 7 2026

बाढीपीडितलाई चन्द्र ढकालको भरोसा : ‘सिंगो निजी क्षेत्र तपाईंहरूको साथमा छ’

२२ भदाै, नुवाकोट । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटसहितका क्षेत्रमा तत्काल राहत, पुनर्निर्माण र पुनरुत्थानका काम अघि बढाउन राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकनपछि ढकालले सयौँ परिवारका घर–आँगना बगरमा परिणत भएको, सडक सञ्जाल क्षतविक्षत भएको तथा जलविद्युत् आयोजना, विद्यालय, अस्पताल र उद्योगी–व्यवसायीका पसल तथा गोदाममा ठूलो क्षति पुगेको बताएका हुन्।

रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका क्षेत्रमा बाढीले पुर्‍याएको क्षति देख्दा आफू अत्यन्त मर्माहत भएको उनले बताएका छन् । उनले विपद्मा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

स्थलगत अवलोकनका क्रममा आफ्नै घर तथा व्यवसाय गुमाएका जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरू समेत अरूको उद्धार र राहतमा खटिरहेको देख्दा आफू भावुक भएको ढकालले उल्लेख गरेका छन्।

‘आफ्नै घर र व्यवसाय बगेको व्यक्तिगत पीडालाई मनभित्रै दबाएर अरूको जीवन रक्षाका लागि उद्योग वाणिज्य संघका साथीहरू अहोरात्र खटिरहनुभएको देख्दा मेरो आँखा रसायो,’ ढकालले भनेका छन्।

उनका अनुसार विपद्को पहिलो दिनदेखि नै निजी क्षेत्रले उद्धार, राहत, प्राथमिक उपचार र अत्यावश्यक सेवा सञ्चालनका लागि सहयोग परिचालन गर्दै आएको छ। आगामी दिनमा पनि प्रभावित क्षेत्रमा निजी क्षेत्रको सहयोग निरन्तर रहने उनले बताएका छन्।

ढकालले विदुर नगरपालिकाका नगरप्रमुख, नुवाकोट उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्थानीय उद्योगी–व्यवसायीसँग प्रत्यक्ष भेट गरी क्षतिको अवस्था र व्यवसायीका समस्याबारे जानकारी लिएका थिए।

पीडित व्यवसायीहरूलाई आफूले ‘तपाईंहरू कत्ति पनि एक्लो हुनुहुन्न, सिंगो निजी क्षेत्र तपाईंहरूको परिवार बनेर साथमा उभिएको छ’ भन्दै ढाडस दिएको उनले बताएका छन्।

२०७२ सालको भूकम्प र कोरोना महामारीबाट समेत निजी क्षेत्र पुनः उठ्न सफल भएको स्मरण गर्दै ढकालले अहिलेको विपत्तिबाट पनि निजी क्षेत्र पुनः सबल भएर उठ्ने विश्वास व्यक्त गरेका छन्।

‘हाम्रा इँटा र ढुङ्गाका संरचना भत्किए पनि हाम्रो भित्री आँट र धैर्य कहिल्यै भत्किएको छैन,’ उनले भनेका छन्, ‘२०७२ को महाभूकम्प र कोरोनाको महाव्याधिबाट फेरि उठेर देखाएको हाम्रो निजी क्षेत्र यो चोटबाट पनि फेरि अवश्य उठ्नेछ।’

ढकालले बाढीबाट नेपाल–चीन जोड्ने प्रमुख उत्तरी व्यापारिक मार्ग अवरुद्ध हुँदा प्रभावित क्षेत्रको जनजीवनसँगै मुलुककै आपूर्ति व्यवस्थामा समेत गम्भीर असर परेको बताएका छन् । दसैँ–तिहार नजिकिँदै गर्दा उत्तरी व्यापारिक मार्गको अवरोधले आपूर्ति प्रणालीमा थप चुनौती सिर्जना गर्न सक्ने उनको भनाइ छ।

उनले बाढीबाट भएको क्षतिको यथार्थ विवरण तत्काल संकलन गरी अवरुद्ध सडक, अस्थायी पुल, विद्युत् र सञ्चार सेवा यथाशीघ्र सञ्चालन गर्न राज्यका सम्पूर्ण निकायको ध्यानाकर्षण गराएका छन्।

स्थलगत छलफलका क्रममा स्थानीय उद्योगी तथा व्यवसायीहरूले राखेका माग र समस्याको नीतिगत समाधानका लागि आफूले काठमाडौँ फर्किएलगत्तै सम्बन्धित निकायमा पहल गर्ने ढकालले प्रतिबद्धता जनाएका छन्।

बाढी प्रभावित व्यवसायी तथा स्थानीयवासीलाई धैर्य नगुमाउन आग्रह गर्दै ढकालले निजी क्षेत्र संकटको समयमा पनि उनीहरूको साथमा रहेको बताएका छन्।

‘प्रिय साथीहरू, तपाईंहरू धैर्य राख्नुहोस्, मन कमजोर नबनाउनुहोस्। सिंगो निजी क्षेत्र तपाईंहरूको साथमा छ,’ उनले भनेका छन्, ‘हामी यो विपद्लाई जितेर फेरि नयाँ आशा र उत्साहका साथ उठ्नेछौँ।’

प्रकाशित मिति : September 7, 2026 at 6:13 pm