१३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026

त्रिशुली थ्री ‘ए’ को सुरुङबाट उद्धार गरिएका घाइतेलाई ऊर्जामन्त्री श्रेष्ठले भेटे

२१ भदाै, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीसँग भेट गरेका छन्।आइतबार दिउँसो छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले उपचाररत घाइते कर्मचारी र उनीहरूका परिवारसँग भेट गरी स्वास्थ्य स्थितिबारे जानकारी लिएका हुन्।

मन्त्री श्रेष्ठले त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई भेटेको उनका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जनले जानकारी दिए। उनका अनुसार मन्त्री श्रेष्ठले कबिर महर्जनका परिवारसँग पनि भेट गरी हौसला प्रदान गरेका थिए।

dainiki.com

यसैगरी मन्त्री श्रेष्ठले माथिल्लो त्रिशुली १ बाट उद्धार गरिएका चिनियाँ नागरिकसँग पनि भेटे। स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई पनि मन्त्री श्रेष्ठले भेटेका थिए। मन्त्री श्रेष्ठले भने, ‘उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। पानी र लेदोबाट भएका घाउहरू निको हुँदै छन्। शारीरिक घाउचोटहरू निको हुन थालेका छन्। मानसिक र मनोवैज्ञानिक परामर्श आवश्यक छ।’

मन्त्री श्रेष्ठले उपचारमा खटिएका स्वास्थ्यकर्मी र उद्धारकर्मी सबैलाई धन्यवाद पनि दिए। ‘स्वास्थ्यकर्मीले पनि एकदमै राम्रोसँग रेखदेख गरेका छन्,’ उनले भने। छाउनी अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेको अवस्थाबारे जानकारी गराएका थिए।

प्रकाशित मिति : September 6, 2026 at 4:54 pm