२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

चुमनुब्रीमा नाम्रुङ खोलाको बाढीले चार घर र फलामे पुल बगायो

२१ भदाै, गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङमा नाम्रुङ खोलामा आएको बाढीले चार वटा घर बगाएको छ । बाढीका कारण वडा नम्बर ४ र २ जोड्ने फलामको पुलसमेत बगेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार आइतबार बिहान करिब ३ बजेतिर आएको बाढीले स्थानीय नुर्वु ओङ्ग्याल, उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो ।

बाढी आउन थालेपछि स्थानीयले समयमै घर छाडेर सुरक्षित स्थानमा पुगेकाले मानवीय क्षति हुन नपाएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार बाढीले घर तथा अन्य भौतिक संरचनामा क्षति पुर्‍याए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।

सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार मुहानतर्फ केही समय खोला थुनिएपछि लेदोसहितको पानी एक्कासि बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण चुमनुब्री गाउँपालिका–४ र २ जोड्ने फलामे पुलसमेत बगेपछि स्थानीय आवागमन प्रभावित भएको छ ।

आइतबार बिहान ४ः४० बजेदेखि खोलाको बहाव क्रमशः घटेको र अहिले खोला सामान्य अवस्थामा फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।

नाम्रुङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । स्थानीय प्रशासनले नदी तथा खोलाको बहावमा थप परिवर्तन आउन सक्ने भन्दै जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : September 6, 2026 at 7:52 am