नुवाकोटको बाढी पीडितको सेल्टरमा सुबिसुको निःशुल्क इन्टरनेट सेवा
२० भदाै, काठमाडाैँ । बाढी प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गर्ने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ।
नुवाकोट, विदुर–८, हात्तीगौडास्थित भैरुम माध्यमिक विद्यालयको विपद् राहत शिविरमा आश्रय लिइरहेका २०० भन्दा बढी बाढी प्रभावित नागरिकहरूका लागि आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र आवश्यक सूचना आदानप्रदान गर्न सहज होस् भन्ने उद्देश्यले सुविसुले निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको हो। उक्त सेवा विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठज्यू तथा समाजसेवी श्री रमेश श्रेष्ठज्यूसँगको समन्वयमा उपलब्ध गराइएको हो।

विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठज्यूले भने, “राहत शिविरमा रहेका २०० भन्दा बढी नागरिकका लागि सुविसुले उपलब्ध गराएको निःशुल्क वाइफाइ सेवाले परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाएको छ । कठिन परिस्थितिमा प्रभावित परिवारहरूको सञ्चारको आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाका लागि धन्यवाद व्यक्त गर्दछु। विपद्को समयमा गरिएको यो सहयोगले राहत शिविरमा रहेका परिवारहरूलाई ठूलो सहजता प्रदान गरेको छ।”
त्यसैगरी, समाजसेवी रमेश श्रेष्ठज्यूले भने, “विपद्को समयमा सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ। सुविसुले उपलब्ध गराएको निःशुल्क इन्टरनेट सेवाले राहत शिविरमा रहेका बाढी प्रभावित परिवारहरूलाई आफ्ना आफन्तसँग सम्पर्कमा रहन ठूलो सहयोग पुगेको छ।”

यस्तै, विदुर–५, पिपलटारस्थित चन्द्र ज्योति माध्यमिक विद्यालयमा पनि बाढी प्रभावित परिवार तथा आश्रय लिइरहेका नागरिकहरूको सञ्चार आवश्यकतालाई ध्यानमा राख्दै सुविसुले निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएको छ।
यस सहयोगले प्रभावित परिवारहरूलाई सञ्चारमा सहजता प्रदान गरेको उल्लेख गर्दै चन्द्र ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बासुदेव पंगेनीज्यूले भन्नुभयो, “विपद्को यस कठिन परिस्थितिमा चन्द्र ज्योति माध्यमिक विद्यालयमा बसोबास गरिरहेका तथा पीडामा रहेका प्रभावित परिवारहरूका लागि सुविसुले करिब ३००–४०० जनालाई निःशुल्क वाइफाइ इन्टरनेट सेवा उपलब्ध गराएर महत्वपूर्ण सहयोग पुर्याएको छ। प्रभावित परिवारहरूलाई आफ्ना परिवार तथा आफन्तसँग सम्पर्कमा रहन सहज बनाउने यस सहयोगका लागि सुविसुप्रति हार्दिक आभार व्यक्त गर्दछु।”

विपद्को समयमा सञ्चार सुविधा नभई आवश्यकताको विषय बन्ने भएकाले प्रभावित समुदायलाई निरन्तर सम्पर्कमा राख्न इन्टरनेट सेवाले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । कठिन परिस्थितिमा समुदायको आवश्यकताअनुसार सहयोग पुर्याउने उद्देश्यले सुविसुले नुवाकोटका विभिन्न राहत शिविर तथा प्रभावित समुदायमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ।
प्रकाशित मिति : September 5, 2026 at 6:39 pm


