१९ भदौ २०८३, शुक्रबार | Fri Sep 4 2026

त्रिवि शिक्षण अस्पताल पुगेर सञ्चारमन्त्रीले लिए बाढीपीडितको अवस्थाबारे जानकारी

१९ भदाै, काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोसी बाढीमा परी उद्धार भई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत व्यक्तिहरूको स्वास्थ्य अवस्था र उपचार व्यवस्थाबारे जानकारी लिएका छन्।

सञ्चारमन्त्री तिमिल्सिना शुक्रबार दिउँसो शिक्षण अस्पताल पुगेर बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित व्यक्तिहरूको स्वास्थ्य अवस्था, उपचारका लागि गरिएको प्रबन्ध तथा अस्पतालको समग्र व्यवस्थापनबारे अस्पतालका अधिकारीहरूसँग जानकारी लिएका हुन्।

dainiki.com

अस्पतालका अनुसार भोटेकोसी बाढीबाट उद्धार गरी उपचारका लागि त्यहाँ ल्याइएका ७८ जनामध्ये शुक्रबार बिहान ९ बजेसम्म २९ जना उपचाररत छन्। उपचारपछि स्वास्थ्य अवस्थामा सुधार आएका अन्य व्यक्तिहरूलाई अस्पतालले डिस्चार्ज गरिसकेको जनाएको छ।

अस्पतालका अधिकारीहरूले बाढीपीडितहरूको उपचारमा हालसम्म कुनै समस्या नरहेको र उपचाररत व्यक्तिहरूले अस्पतालबाट सहज रूपमा स्वास्थ्य सेवा पाइरहेको जानकारी मन्त्री तिमिल्सिनालाई गराएका थिए। सञ्चारमन्त्री तिमिल्सिनाले विपद्को समयमा घाइते तथा प्रभावित नागरिकको उपचार र आवश्यक स्वास्थ्य सेवामा कुनै कमी हुन नदिन सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र व्यवस्थापन गर्न आग्रह गरे। उपचारका क्रममा कुनै समस्या देखिएमा वा थप स्वास्थ्य सेवा, उपचार सामग्री तथा अन्य व्यवस्थापन आवश्यक परेमा सरकारले राज्यस्तरबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता उनले व्यक्त गरे ।

प्रकाशित मिति : September 4, 2026 at 5:41 pm