रसुवा बाढी अपडेटः मृतकको संख्या १ हजार २ सय ८७ पुग्यो, ३ खर्ब ८७ अर्बभन्दा बढीको आर्थिक क्षति
१९ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह अद्यावधिक गरेको विवरणअनुसार बाढीमा परी निधन भएकाहरुमध्ये चितवनमा सबैभन्दा बढी ३ सय ५९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत हुन सकेको छ ।

विपद्का क्रममा हालसम्म ५ हजार ३ सय ९७ जना घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पताल, नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ । उद्धार कार्यलाई तिब्रता दिँदै सुरक्षा निकायले हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्याएको छ । शुक्रवार मात्रै त्रिशुली ३ ए जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको प्राधिकरणले जनाएको छ । हालसम्म नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरी उद्धार र राहत कार्यमा सहयोग पुर्याएका छन् । उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेका छन् । विपद् व्यवस्थापनका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना रहेका छन् ।
विपदबाट भएको कूल आर्थिक क्षति र नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । शिघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।
प्रकाशित मिति : September 4, 2026 at 2:53 pm


