गृहमन्त्रीलाई ऐन महरको भनेः जीवन रक्षाका लागि एक एक सेकेण्ड महत्वपूर्ण छ, गृहमन्त्रीज्यू कमाण्ड सम्हाल्नुहोस्
१९ भदाै, काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न सम्पूर्ण शक्ति परिचालन गर्न आग्रह गरेका छन्। बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सुरक्षित हेलिकोप्टरतिर लगिरहेका बेला गृहमन्त्रीले स्लाइन बोकेर भिडिओ खिचेकोप्रति लक्षित गर्दै सामाजिक सञ्जालमा लेख्दै महरले यस्तो आग्रह गरेका हुन् ।
महरले गृहमन्त्रीले उद्धार अभियानको कमाण्ड सम्हालेर सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय गर्नुपर्ने बताएका छन्। ‘गृहमन्त्रीज्यू! प्लिज तपाईँ कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ महरले सामाजिक सञ्जालमा लेहेका छन् ।
उनले फसेका नागरिकको जीवन रक्षाका लागि आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिनसमेत सरकार पछि हट्न नहुने बताएका छन्। ‘आवश्यक पर्यो भने अन्तर्राष्ट्रिय सहयोग लिनुपर्यो। सम्बन्धित आयोजनाका प्राविधिक र निर्माणकर्ताहरूसँग छलफल गर्नुहोस्,’ उनले भनेका छन्, ‘हामीसँग राहत कोषमा अर्बौं रकम मौज्दात छ। त्यसैले विज्ञ तथा प्राविधिकहरू ल्याएर छिटो-छिटो काममा लागौँ।’ उनले सबै टनेलमा एकैपटक काम थाल्न पनि अनुराेध गरेका छन् ।

टनेलभित्र फसेका नागरिकको जीवन रक्षाका लागि एक-एक सेकेन्ड महत्त्वपूर्ण रहेको भन्दै महरले उपलब्ध जनशक्ति तथा स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेका छन्। महरले उद्धारस्थलमा गृहमन्त्री आफैँले अक्सिजन सिलिण्डर बोक्नेभन्दा उद्धार अभियानको नेतृत्व र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्। ‘तपाईँको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन। तपाईँले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ,’ उनले प्रश्न गर्दै भनेका छन्। ‘तपाईँ यहाँबाट गइदिनुहोस् भनेर सेनाले अस्ति मात्रै भनेको किन बिर्सिनुभयो?’ उनले प्रश्न गरेका छन्।
सिलिण्डर बोक्ने काम उद्धारमा खटिएका सुरक्षाकर्मीले गर्न सक्ने भन्दै महरले गृहमन्त्रीले त्यसभन्दा महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने बताएका छन्। ‘त्यो सिलिण्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि। त्यसका लागि गृहमन्त्री चाहिँदैन,’ महरले भनेका छन् ।

प्रकाशित मिति : September 4, 2026 at 11:30 am


