पेप्सीकोलामा भीषण आगलागी : १० पसल र ३ घरमा क्षति, ६ भन्दा बढी घर–टहरा पूर्णरूपमा जले
१९ भदौ, काठमाडौँ । काठमाडौं महानगरपालिका–३२, पेप्सीकोला प्लानिङमा भएको भीषण आगलागीबाट १० वटा पसल तथा ३ वटा पक्की घरमा क्षति पुगेको छ। आगलागीका क्रममा ग्यास सिलिन्डर पड्किएपछि आगोले थप ठूलो रूप लिएको थियो।
आगलागत्तै काठमाडौं महानगरपालिकाको जुद्ध वारुणयन्त्र कार्यालयबाट कार्यालय प्रमुख एवं नगर प्रहरी नायव उपरीक्षक लीलाराज गाछाको नेतृत्वमा तीनवटै युनिटका ३ वटा दमकल, ३० जना अग्नि नियन्त्रक र २ वटा पानी ट्याङ्करसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना तथा छिमेकी पालिकाका दमकलसमेत घटनास्थलमा परिचालन भएका थिए। काठमाडौं महानगरपालिकाको अग्नि नियन्त्रक टोलीको निरन्तर प्रयास तथा सम्बन्धित निकायबीचको समन्वयमा आगो नियन्त्रणमा लिइएको महानगरपालिकाले जनाएको छ।

आगलागीबाट काठमाडौं क्याफे, बेम्बो कटेज, तरकारी पसल, सेकुवा क्याफे, खाद्यान्न पसललगायत ६ वटाभन्दा बढी घर–टहरा पूर्णरूपमा जलेर नष्ट भएका छन्। आगलागीबाट थप भौतिक क्षतिसमेत भएको बताइएको छ। आगलागीमा कुनै मानवीय क्षति भने भएको छैन।
घटनाले आगलागी भएपछि नियन्त्रण गर्नुभन्दा आगलागी हुन नदिन पूर्वतयारी र सावधानी अझ महत्वपूर्ण हुने पाठसमेत स्मरण गराएको छ। घर, पसल तथा व्यवसायमा ग्यास सिलिन्डर, विद्युतीय उपकरण तथा अन्य सम्भावित आगलागीका स्रोतको सुरक्षित व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
प्रकाशित मिति : September 4, 2026 at 8:44 am


