१८ भदौ २०८३, बिहिबार | Thu Sep 3 2026

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढीपीडितका लागि ३ करोड ३६ लाख ७० हजार सहयोग

१८ भदाै, काठमाडौं । बीएलसी ग्लोबल होल्डिङ्ससँग आवद्ध संस्थाहरुले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत तथा पुननिर्माणमा सहजिकरणका लागि सरकारलाई ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

होल्डिङ्ससँग आवद्ध संस्थाहरु नर्भिक इन्टरनेशनल हस्पिटल, बीएलसी ग्लोबल लजिस्टिक र नेपाल डिस्टिलरीज लगायतका तर्फबाट एक÷एक करोड गरी कुल ३ करोड ३६ लाख ७० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

बुधबार होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक मेघा चौधरी तथा नर्भिकका अध्यक्ष राजेन्द्र बहादुर सिंह, सिईओ अजयकुमार मिश्र र नेपाल डिस्टिलरीजका शरद टिबरेवालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरे ।

सहयोग रकम हस्तान्तरण गर्दै होल्डिङ्सका प्रबन्ध निर्देशक एवं नर्भिकका निर्देशक मेघा चौधरीले विपद्को अवस्थामा सरकारबाट संचालन हुने राहत तथा पुननिर्माणको कार्यलाई सहजिकरण गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तीन करोड भन्दा बढी रकम सहयोग गरेको बताइन् ।

उनले भनिन्, ‘यो सहयोग रकम आफैंमा धेरै ठूलो नभएपनि यो रकम बाढीप्रभावित परिवारको पुनर्वासमा प्रभावकारी रुपमा प्रयोग हुने विश्वास लिएका छौं ।’ उनले अहिलेको विषम परिस्थितिमा होल्डिङ्ससँग आवद्ध सबै संस्थाहरु सरकारका साथमा सहकार्यका लागि प्रतिबद्ध रहेको पनि बताइन् । उद्धार, राहत तथा पुनस्र्थापनामा खटिएका सबै संघसंस्था तथा व्यक्तिप्रति सम्मान पनि व्यक्त गरिन् ।

सो क्रममा बीएलसी ग्लोबल होल्डिङ्सले बाढीमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बिएलसी होल्डिङ्सका संस्थापक बसन्त चौधरीले गत शनिबार नै बाढी प्रभावितको उद्धार र पुनस्र्थापनका लागि ३ करोड सहयोग गर्ने घोषणा गरेका थिए । सोही घोषणा अनुसार होल्डिङ्ससँग आबद्ध संस्थाहरुबाट ३ करोड ३६ लाख ७० हजार रुपैयाँ सहयोग गरिएको हो ।

प्रकाशित मिति : September 3, 2026 at 2:14 pm