मन्त्रीहरूसहित स्वर्गीय अधिकारीको निवासमै पुगेर प्रधानमन्त्री ओलीले परिवारलाई सम्झाए
१५ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीको घरमै पुगेर परिवारका सदस्यहरूलाइ समवेदना व्यक्त गरेका छन । केहीबेर अघि मन्त्री अधिकारीको निवासमा उपप्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरू लालबाबु पण्डित, पद्मा अर्याल लगायतसँगै पुगेका प्रधानमन्त्री ओलीले शोकको घडीमा धैर्यधारण गर्न अनुरोध गर्दै रविन्द्रले पार्टी र देशका लागि गरेको योगदानको चर्चा गरे ।

सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री स्वर्गीय रविन्द्र अधिकारीको निधनमा सरकारले राष्ट्रिय शोक मनाउने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वर्गीय अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को आकस्मिक बैठकले मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो । हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसँगै यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा,नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै एरोड्रम इन्जिनियरिङ विभागका प्रमुख ध्रुवदास बजिमय, प्रधानथमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, अर्जुनकुमार घिमिरे र पाइलट प्रभावकर केसीको मृत्यु भएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार २१:०४












