१६ भदौ २०८३, मंगलबार | Tue Sep 1 2026

काठमाडौं र हेटौंडा जाने सवारीसाधनको लागि नयाँ रूट निर्धारण

१६ भदौ,  काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते बाढी गएपछि पृथ्वी राजमार्ग लगायतका सडक अवरूद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुरको हेटौंडादेखि काठमाडौंमा चल्ने सवारीसाधनको आजदेखि नयाँ रूट निर्धारण गरेको छ।

दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौंतर्फ जाने रूट व्यवस्थापन गरेको छ। दश चक्कासम्मका सवारीसाधन काठमाडौंबाट मकवानपुर फर्किँदा भने कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरेको छ।

प्रहरी प्रधान कार्यालयले मौसम र बाटोलगायत यात्रुहरूको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रूपमा साँझ ६ बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिंगन चेकपोष्ट पार गरिसक्नुपर्ने व्यवस्था गरेको छ।

dainiki.com

प्रहरी प्रधान कार्यालयले १४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौंबाट हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदीतर्फ आउने रूट निर्धारण गरेको छ।त्यसैगरी, काठमाडौंतर्फ जाँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जाने रूट तय गरेको छ। मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरीसँगै रहेको डाईभर्सन हुँदै जाने व्यवस्था गरेको छ।

प्रहरी प्रधान कार्यालयले विपद्जन्य समय भएकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्ने, कुनै पनि राजमार्गमा सवारी चालकहरूले धैर्य एवं अनुशासनपूर्वक आफ्नो पालोमा मात्र सवारी सञ्चालन गर्ने, ओभरटेक नगर्ने तथा ट्राफिक व्यवस्थापन खटिएका सुरक्षाकर्मी ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्नका लागि सबैसँग अनुरोध गरेको छ।

प्रकाशित मिति : September 1, 2026 at 10:48 am