बाढीको पाँचौँ दिनसम्म उत्तरगयाका पाँच वडामा पुगेन राहत, ‘भोकै मर्ने भयौँ’ भन्दै गुहार
१४ भदाै, नुवाकोट । सुवाको उत्तरगया गाउँपालिकाका वडा नम्बर १ देखि ५ सम्मका बाढी प्रभावित नागरिकले विपद्को पाँचौँ दिनसम्म पनि पर्याप्त राहत नपाएको गुनासो गरेका छन् । प्रभावित क्षेत्रमा खाद्यान्न, लत्ताकपडा र औषधिसमेत पुग्न नसकेको भन्दै स्थानीयले तत्काल राहत पठाउन आग्रह गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत उत्तरगया गाउँपालिकाका प्रभावितको अवस्थाबारे जानकारी सार्वजनिक गर्दै तत्काल राहत र उद्धारका लागि सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
ढकालले उत्तरगया–१, २, ३, ४ र ५ का बाढी प्रभावित क्षेत्रमा अहिलेसम्म कुनै राहत नपुगेको उल्लेख गरेका छन् । उनका अनुसार राजेन्द्रप्रसाद लामिछानेले आफूहरूलाई लगाउने लुगा, खाना र औषधिको तत्काल आवश्यकता रहेको भन्दै सहयोगका लागि गुहार गरेका छन् ।

लामिछानेको परिवारका चार–पाँच जना सदस्यसमेत बाढीको चपेटामा परेको र आफूहरू अत्यन्तै कठिन अवस्थामा रहेको भन्दै ‘भोकै मर्ने भयौँ’ भनेर सहयोगको अपिल गरेको ढकालले बताएका छन् ।
रसुवामा भोटेकोशीसहितका नदी तथा खोलामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको पाँच दिन बितिसक्दा पनि प्रभावितका आधारभूत आवश्यकता पूरा हुन नसकेको ढकालको यो भनाइले देखाएको छ । विशेषगरी सडक, सञ्चार तथा यातायात अवरुद्ध भएका दुर्गम क्षेत्रका नागरिक राहतको पर्खाइमा रहेको अवस्था देखिएको छ।

बाढी प्रभावितको उद्धार तथा राहतका लागि ढकाल चार दिनदेखि नुवाकोटमै रहेर प्रभावित क्षेत्रसँग समन्वय गरिरहेका छन् । उनी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ निकट नेताका रूपमा चिनिन्छन् । ढकाल नुवाकोट क्षेत्र नम्बर १ को ककनी गाउँपालिकाका स्थायी बसिन्दा हुन । सोही क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सञ्चारमन्त्री डा विक्रम तिमल्सिना पनि केही दिन नुवाकोटमै बसेर राहत र उद्धारको काममा सक्रिय रहेका थिए ।
सरकार तथा सुरक्षा निकायले बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतको काम जारी रहेको बताउँदै आए पनि प्रभावित क्षेत्रबाट भने अझै खाद्यान्न, औषधि, कपडा र सुरक्षित बसोबासको तत्काल आवश्यकता रहेको गुनासो आइरहेको छ।
उत्तरगयाका पाँच वडामा पाँचौँ दिनसम्म पनि राहत नपुगेको भनिएको घटनाले विपद्को समयमा राज्यको उद्धार तथा राहत संयन्त्र दुर्गम बस्तीमा कति प्रभावकारी रूपमा पुगिरहेको छ भन्ने गम्भीर प्रश्नसमेत उठाएको छ।
स्थानीयको तत्कालको आवश्यकता पूरा गर्न खाद्यान्न, खानेपानी, औषधि, लत्ताकपडा र अस्थायी आवासको व्यवस्था गर्न ढिलाइ नगर्न प्रभावितहरूले आग्रह गरेका छन्।
प्रकाशित मिति : August 30, 2026 at 7:43 pm



