एलपी ग्यास व्यवसायीले बाढी प्रभावितलाई १२ सय ५० सिलिन्डर नि:शुल्क बाँड्ने
१४ भदाै, काठमाडौं । नेपाल एलपि ग्यास उद्योग संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएकाहरूलाई ग्यास वितरण गर्ने भएको छ । बाढीबाट अत्यन्तै प्रभावित बनेका रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लाका नागरिकहरूलाई संघले मानवीय सहायता स्वरूप १ हजार २ सय ५० भरिएका ग्यास सिलिन्डर उपलब्ध गराउने घोषणा गरेको हो ।
गत भदौ १० गते बुधबार बिहानको बाढीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै संघले यो सहयोग नेपाल आयल निगममार्फत लक्षित वर्गसम्म पुर्याउने प्रतिबद्धता जनाएको छ । संघका अध्यक्ष दीवान बहादुर चन्दद्वारा जारी विज्ञप्तिमा विपद्को समयमा सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै भनिएको छ, ‘यस कठिन परिस्थितिमा प्रभावित नागरिकको तत्कालको आवश्यकता र कठिनाइलाई मध्यनजर गर्दै संघको तर्फबाट यो राहत घोषणा गरिएको हो ।’

संघले बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । यस्तै, घाइतेहरूको शीघ्र उपचार र बेपत्ता भएकाहरूको खोजी कार्यमा राज्यका सबै संयन्त्रलाई जुट्न संघले विशेष अपील समेत गरेको छ । ‘विपद् कसैको एक्लो समस्या होइन,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस मानवीय कार्यमा हातेमालो गर्दै अघि बढ्न हामी सबैमा हार्दिक अपील गर्दछौं ।’
प्रकाशित मिति : August 30, 2026 at 12:54 pm



