बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट फेला
१४ भदाै, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको बैंकको सेफ (भल्ट) धादिङमा फेला परेको छ । धादिङको मलेखु खोलाको पारी किनारमा बाढीले बगाएर ल्याएको बैंकको भल्ट फेला परेको हो ।
उक्त भल्ट उद्धारकर्ता र प्रहरीले किनारबाट निकालेको छ भने भल्टलाई जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । बाढीको बहावसँगै बैंकका संरचना, नगद तथा अन्य महत्वपूर्ण सामग्री नदीमा बगेका थिए । त्यही क्रममा बगेको भल्ट धादिङको मलेखु खोलाको पारी किनारमा फेला परेको हो । भल्ट भेटिएपछि त्यसलाई सुरक्षित रूपमा निकालेर प्रशासनको जिम्मामा राखिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि रसुवाबाट बाढीले बगाएर ल्याएको एउटा बैंकको भल्ट धादिङको गल्छी गाउँपालिका क्षेत्रमा फेला परेको थियो । उक्त भल्ट स्थानीय केही व्यक्तिले फुटाएर त्यसमा रहेको रकम आपसमा बाँडेको आरोपमा प्रहरीले २९ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रूपैयाँ बरामद गरिएको थियो ।
प्रकाशित मिति : August 30, 2026 at 12:30 pm



