६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

बाढी प्रभावित क्षेत्रमा वृद्ध-बृद्धाको कान र घाँटीबाट सुन लुटियो

१४ भदौ, नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासन व्यस्त भइरहेका बेला नुवाकोटको विदुर नगरपालिका–४ बट्टारमा दिउँसै घरमा रहेका वृद्धवृद्धालाई लक्षित गरी सुन चोरी भएको छ।

घरमा वृद्ध दम्पती मात्रै रहेको मौका छोपी उनीहरूको सुन चोरी गरी अज्ञात व्यक्ति फरार भएको स्थानीयले बताएका छन्। चोरले स्थानीय बाबुराम शर्मा अधिकारीको घाँटीमा लगाएको सुनको सिक्री लुटेको छ भने उनकी श्रीमतीले कानमा लगाएको गहना लुटिएको हो । उनले कानमा लगाएको सुन चोरले जवर्जस्ती तान्दा कानबाट रगत समेत बगेको छ ।

बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनाको काममा सुरक्षाकर्मी, प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधि सक्रिय रहेका बेला आपराधिक गतिविधिको जोखिम बढेको छ ।

बाढीबाट उत्पन्न विपद्को अवस्थामा सबैको ध्यान उद्धार र राहतमा केन्द्रित भइरहेका बेला यस्ता घटनाले प्रभावित नागरिकमा थप त्रास सिर्जना गर्न सक्ने भएकाले सुरक्षा निकायले विपद् व्यवस्थापनसँगै आपराधिक गतिविधि नियन्त्रणमा पनि विशेष ध्यान दिनुपर्ने स्थानीयले माग गरेका छन्।

प्रकाशित मिति : August 30, 2026 at 2:04 pm