चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी पीडितका लागि पाँच सय अस्थायी आवास निर्माण गर्ने
१३ भदौ, काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवामा आएको विनाशकारी बाढीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्न अयोग्य बनेका परिवारका लागि ५०० वटा अस्थायी आवास निर्माण गर्ने भएका छन्। करिब १५ करोड रुपैयाँ लागतमा सञ्चालन गरिने बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत अस्थायी आवास निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको हो।
चौधरी फाउन्डेसन र नबिल बैंक लिमिटेडका अध्यक्ष निर्वाण चौधरीको हस्ताक्षरमा जारी विज्ञप्तिअनुसार सरकार तथा स्थानीय तहसँगको सहकार्यमा निर्माण गरिने ती आवास स्थायी पुनर्निर्माण सम्पन्न नभएसम्म प्रभावित परिवारलाई सुरक्षित र व्यवस्थित रूपमा बसोबास गर्न उपलब्ध गराइनेछ।
यी संक्रमणकालीन आवास एकाइ नेपालमा भूकम्पपीडितका लागि राहत तथा पुनर्स्थापनाका क्रममा चौधरी फाउन्डेसनले प्रयोग गरेको प्रविधिमा आधारित हुने जनाइएको छ। बाढीबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित छाना उपलब्ध गराउने उद्देश्यले आवास निर्माणको काम अघि बढाइने फाउन्डेसनले जनाएको छ।
चौधरी फाउन्डेसन र नबिल बैंकले तत्काल राहतदेखि दीर्घकालीन पुनर्स्थापनासम्मका कार्यक्रम समेटेर करिब १५ करोड रुपैयाँ लागतको बहुचरणीय योजना अघि सारेका हुन्। कार्यक्रमअन्तर्गत तत्काल राहत वितरण, व्यवस्थित राहत शिविर सञ्चालन, अस्थायी आवास निर्माण तथा दीर्घकालीन रूपमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने योजना छ।

कार्यक्रमको पहिलो चरणमा बाढी प्रभावित परिवारलाई खाद्यान्न, खोप तथा स्वास्थ्य सामग्री वितरण भइरहेको छ। राहत प्याकेजमा तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, तिरपाल तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु समावेश छन्। फाउन्डेसनका अनुसार ११ भदौदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन थालिएको हो।
त्यस्तै, स्थानीय प्रशासनसँगको सहकार्यमा नुवाकोट र रसुवामा एक–एकवटा गरी दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिने भएको छ। शिविरमा प्रभावित परिवारका लागि दैनिक भोजन, स्वच्छ खानेपानी तथा सरसफाइको व्यवस्था गरिनुका साथै बालबालिकाका लागि सुरक्षित स्थानसमेत उपलब्ध गराइनेछ।
प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा र रोग रोकथामका लागि धुलिखेल अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना पनि फाउन्डेसन र बैंकले अघि सारेका छन्।
अस्थायी आवास निर्माणपछि पुनर्निर्माणको चरणमा प्रभावित समुदायका लागि स्थायी आवास तथा आवश्यक सामुदायिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्ने घोषणा गरिएको छ।
दीर्घकालीन योजनाअन्तर्गत धुलिखेल अस्पतालसँगको सहकार्यमा संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्ने तयारी गरिएको छ। उक्त केन्द्रमार्फत रोगको निगरानी तथा पहिचान, रोकथाममूलक स्वास्थ्य सेवा, जनचेतना अभिवृद्धि तथा बाढी र अन्य विपद्पछि उत्पन्न हुन सक्ने संक्रामक रोग तथा प्रकोप व्यवस्थापनका लागि संस्थागत क्षमता अभिवृद्धि गरिने जनाइएको छ।
अध्यक्ष चौधरीले अहिलेको प्राथमिकता बाढी प्रभावितको जीवन रक्षा गर्दै उनीहरूलाई खाना, आवास, स्वास्थ्य सेवा र सम्मान सुनिश्चित गर्नु रहेको बताए। आपत्कालीन राहतमा मात्र आफ्नो जिम्मेवारी सीमित नराखी उद्धार तथा राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना र जनस्वास्थ्य तयारीसम्मको यात्रामा प्रतिबद्ध रहेको उनको भनाइ छ।
फाउन्डेसन र बैंकका अधिकारीहरूले नेपाल सरकार, स्थानीय प्रशासन, सम्बन्धित निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने बताएका छन्। सबैभन्दा बढी प्रभावित र जोखिममा रहेका परिवारसम्म राहत तथा सहायता पारदर्शी, प्रभावकारी र व्यवस्थित रूपमा पुर्याउने उनीहरूको प्रतिबद्धता छ।
चौधरी फाउन्डेसन र नबिल बैंकले बाढी प्रभावित समुदायलाई तत्काल राहतसँगै सुरक्षित आवास, स्थायी पुनर्स्थापना र विपद्–प्रतिरोधी समुदाय निर्माणमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम अघि बढाएको जनाएको छ।
प्रकाशित मिति : August 29, 2026 at 3:21 pm



