भोटेकोशी बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड ८ लाख सहयोग
१३ भदाै, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्राइम कमर्सियल बैंक लिमिटेडले ३ करोड ८ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद सहयोग गरेको हो। त्यसैगरी बैंकले ७ लाख रुपैयाँ बराबरका विभिन्न खाद्यान्न सामग्रीसमेत सहयोग गरेको जनाएको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमार बैंकका सञ्चालक समिति सदस्य गजेन्द्र विष्ट लगायत उपस्थित रहेका थिए ।

भोटेकोशी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराएको जनाएको छ।
प्राकृतिक विपद्का समयमा सरकार तथा प्रभावित समुदायलाई सहयोग गर्दै आएको बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग गर्दै आएको जनाएको छ।
बैंकले आगामी दिनमा पनि प्राकृतिक विपद्का कारण प्रभावित नागरिक तथा समुदायको राहत र पुनर्स्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
प्रकाशित मिति : August 29, 2026 at 1:42 pm



