बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरद्धारा निःशुल्क यातायात सञ्चालन
१३ भदाै, काठमाडौं । काठमाडौं महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र परेका यात्रुको स्थलमार्गबाट उद्धार गरी काठमाडौं ल्याउन निःशुल्क यातायात सेवा सुरु गरेको छ।
महानगरपालिकाले शुक्रबारदेखि एउटा सवारी साधनमार्फत सेवा सुरु गरेको थियो। सेवाको पहिलो दिन २ बालबालिका, ९ महिला र ८ पुरुष गरी १९ जना यात्रुको उद्धार गरी काठमाडौं ल्याइएको महानगरपालिकाले जनाएको छ।
आजदेखि भने उद्धार कार्यका लागि दुई वटा सवारी साधन परिचालन गरिएको छ। तीमध्ये एउटा रसुवादेखि काठमाडौं यात्रु ओसारपसारमा प्रयोग हुँदै आएको बा ६ ख ९३३९ नम्बरको १९ सिट क्षमताको गाडी हो। अर्को छत्रपाटी निःशुल्क चिकित्सालयले महानगरपालिकाको अनुरोधमा उपलब्ध गराएको ०३० च ७३६४ नम्बरको सवारी साधन हो। उक्त गाडीमा १० जना यात्रु अट्ने क्षमता रहेको छ।

निःशुल्क उद्धारका लागि परिचालन गरिएका सवारी साधन पहिचान गर्न गाडीको अगाडि र पछाडि व्यानर राखिएको छ। यात्रुको सहज उद्धार तथा व्यवस्थापनका लागि दुवै सवारी साधनमा नगर प्रहरीसमेत परिचालन गरिएको महानगरपालिकाले जनाएको छ।
बाढी तथा पहिरोका कारण विभिन्न स्थानमा यात्रु अलपत्र पर्ने क्रम रहेकाले आवश्यकताका आधारमा उद्धारमा परिचालन गरिने सवारी साधनको संख्या थप गर्दै जाने महानगरपालिकाको योजना छ।
यसैबीच, विपद्को समयमा उद्धार तथा व्यवस्थापनमा खटिएका जनशक्तिको हौसला बढाउन काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता नविन मानन्धर तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा आज सभा गृह पुगेका थिए ।
उनिहरूले विपद्को समयमा यात्रुको उद्धारमा खटिएका जनशक्तिलाई प्रोत्साहित गर्दै प्रभावकारी रूपमा सेवा सञ्चालन गर्न आवश्यक निर्देशन दिएका छन् ।
प्रकाशित मिति : August 29, 2026 at 1:24 pm



