प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड सहयोग रकम संकलन
१२ भदाै, काठमाडाैं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म उक्त रकम संकलन भएको जानकारी दिएको छ।
विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा दाताले एक अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ जम्मा गरेका छन्। बुधबार भोटेकोशी नदीमा भीषण बाढी आएको थियो। बाढीले ठूलो जनधनको क्षति गरेको थियो।
त्यसपछि सरकारले प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। त्यससँगै कोषमा सहयोग रकम जम्मा हुन थालेको हो। सरकारले कोषमा रकम संकलन र समन्वयको जिम्मेवारी अर्थ मन्त्रालयलाई दिएको छ। मन्त्रालयलाई फोकल मन्त्रालय तोकिएको छ।
संस्थागततर्फ एक करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफैँमार्फत स्वीकार गरिरहेका छन्। व्यक्तिगततर्फको नगद सहयोग भने दाताले मन्त्रालयमै आएर दिन सक्ने व्यवस्था गरिएको छ। नयाँ सहयोगसँगै कोषमा चार अर्ब नौ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : August 28, 2026 at 4:19 pm



