त्रिशूलीको बाढीबाट जोगिए इन्जिनियर किसान, आमा र दुई वर्षीया छोरीको अत्तोपत्तो छैन
१२ भदाै, नुवाकाेट । भाेटेकाेसी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा रहेको अप्पर त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको फ्यामिली क्वाटरमा ठूलो मानवीय क्षति पुर्याएको छ। क्वाटरमा रहेका नुवाकोटकी गीता अधिकारीसहित करिब ४० जना अझै बेपत्ता रहेको पाइएको छ।
बाढीमा फसेका जलविद्युत् आयोजनाका इन्जिनियर किसान अधिकारीलाई नेपाली सेनाले बिहीबार हेलिकप्टरमार्फत उद्धार गरी सकुशल परिवारको जिम्मा लगाएको छ। तर, उनकी आमा गीता अधिकारी र दुई वर्षीया छोरी कियानिसा अधिकारी भने अझै सम्पर्कविहीन छन्।
बाढीबाट ज्यान जोगाएर बाहिरिएका किसानका अनुसार त्रिशूली नदीमा एक्कासि ठूलो बाढी आएको थियो। बाढीको अवस्था भयावह बनेपछि उनी भागेर ज्यान जोगाउन सफल भएका थिए। तर, त्यस क्रममा परिवारका सदस्यसहित क्वाटरमा रहेका धेरै मानिस सम्पर्कविहीन भएका छन्।
किसानकी श्रीमती निशा ढुंगानाले आफ्नी दुई वर्षीया छोरी कियानिसा र सासु गीता अधिकारीको खोजीलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरेकी छन्। उनले बाढीपछि आफ्ना परिवारका सदस्यको अवस्था अज्ञात रहेकाले तत्काल प्रभावकारी खोज तथा उद्धार अभियान सञ्चालन गर्न आग्रह गरेकी हुन्।
“मेरो छोरी दुई वर्षकी मात्रै छिन्। सासु आमा पनि बेपत्ता हुनुहुन्छ। उहाँहरू कहाँ हुनुहुन्छ भन्ने कुनै जानकारी छैन। खोजी तथा उद्धारमा प्राथमिकता दिन सरकारसँग आग्रह गर्दछु,” निशाको भनाइ छ।
त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजना तथा आसपासका बस्तीमा ठूलो क्षति पुगेको छ। बाढीले मानिस, घर तथा भौतिक संरचनासमेत बगाएपछि ठूलो संख्यामा मानिस बेपत्ता भएका छन्।

हालसम्म बाढीमा परी मृत्यु भएका ४६९ जनाको शव भेटिएको विवरण सार्वजनिक भएको छ। तीमध्ये हालसम्म ९ जनाको मात्रै पहिचान हुन सकेको छ। ठूलो संख्यामा शवको पहिचान हुन नसक्दा आफन्तहरू आफ्ना परिवारका सदस्यको खोजीमा भौतारिन बाध्य छन्।
बाढीपछि नुवाकोटका विभिन्न क्षेत्रमा बेपत्ता भएका मानिसको खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षा निकाय परिचालित छन्। तर, बाढीले क्षतिग्रस्त सडक, पुल तथा दुर्गम भौगोलिक अवस्थाका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।
अप्पर त्रिशूली थ्री बीको फ्यामिली क्वाटरमै करिब ४० जना बेपत्ता भएको विवरणले बाढीको विनाश कति भयावह थियो भन्ने देखाएको छ। आफन्तहरू भने बेपत्ता परिवारका सदस्य जीवितै भेटिने आशामा उद्धार टोलीको प्रतीक्षामा छन्।
प्रकाशित मिति : August 28, 2026 at 4:10 pm



