११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026
http://kk5.io/NADA2026

बाढी प्रभावितका लागि नेपाल टेलिकमको निःशुल्क सेवा ३ दिन थप

११ भदौ, काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रमा उपलब्ध गराउँदै आएको निःशुल्क सञ्चार सेवाको अवधि ३ दिन थप गरेको छ। बाढीका कारण उत्पन्न विषम परिस्थितिमा नागरिकलाई सञ्चार सम्पर्कमा सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले साविकको सुविधालाई आगामी १४ गतेसम्म निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

यसअघि टेलिकमले सो क्षेत्रका सेवाग्राहीका लागि दुई दिनसम्म निःशुल्क भ्वाइस कल तथा प्रतिदिन २ जीबी डाटा र ५० वटा एसएमएस निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । बाढीको प्रभाव अझै कायम रहेकाले उद्धार, राहत र आपसी सम्पर्कलाई सहज बनाउन यो सुविधा थप गरिएको कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए ।

कम्पनीले भोटेकोशी र त्रिशूली नदीको बहाव बढ्दो क्रममा रहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन लगायतका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ । यसअघि ती क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन एसएमएसमार्फत पूर्वसूचना पठाइएको टेलिकमले जनाएको ।

बाढीका कारण टेलिकमका कतिपय भौतिक संरचनामा क्षति पुगेको भए तापनि सेवालाई सुचारु राख्न प्राविधिक टोली निरन्तर खटिएको विज्ञप्तिमा उल्लेख छ। नेपाल टेलिकमको यो निर्णयले प्रभावित क्षेत्रका नागरिकलाई आफ्ना आफन्त, उद्धारकर्मी र सम्बन्धित निकायसँग नियमित सम्पर्कमा रहन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : August 27, 2026 at 4:13 pm