२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मन्त्री अधिकारी र पीएसओ घिमिरेकोमात्र शव चिन्न सकिने अवस्थामाः गृह मन्त्रालय

१५ फागुन, काठमाडाैँ ।   संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ ।

गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ र क्याप्टेनसहित सात जनाको मृत्यु भएको जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार मन्त्री अधिकारीसहित सवार छ र क्याप्टेन गरी सात जनाको शव फेला परेको छ । मन्त्री अधिकारीको शव चिन्न सकिने अवस्थामा छ । मन्त्रीका पीएसओ नेपाली सेनाका जमेदारको शव चिनिएको छ । बाँकी शव चिन्न सकिने अवस्थामा छैनन् ।

शव ल्याउनका लािग नेपाली सेनाको एमआई १७ र बेल हेलिकप्टर उडिसकेको समेत प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटना भएको स्थान विकट भएकाले हेलिकप्टरसम्म ल्याउन डेढदेखि दुई घण्टा लाग्ने छ । मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहानडाँडामा आयोजित कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा दर्शन गरेर फर्कने क्रममा मन्दिरबाट डेढ किलोमिटर यता दुर्घटना भएको थियो । यसैबीच हेलिकप्टर दुर्घटनास्थल तारेभीरमा पुगिसकेको बताइएको छ ।

सो हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरे रहनुभएको थियो । रासस

प्रकाशित मिति : 17:43