मार्जिन कारोबार विस्तार गर्न दुई ब्रोकरले ३ अर्ब ऋण लिँदै
७ भदाै, काठमाडौं । नेपालका दुई ठूला धितोपत्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा विस्तार गर्ने उद्देश्यले बैंकबाट ३ अर्ब रुपैयाँ बराबरको ऋण लिने प्रक्रिया अगाडि बढाएका छन् । दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि र कलश स्टक मार्केट प्रालिले अल्पकालीन बैंक कर्जाका लागि क्रेडिट रेटिङ गराएसँगै ऋण लिने बाटो खुलेको हो । परम्परागत रूपमा ब्रोकर कमिसनमा मात्र निर्भर रहँदै आएका यी कम्पनीहरूले पछिल्लो समय ब्याज आम्दानीमार्फत आयको स्रोत विविधीकरण गर्न मार्जिन कर्जा प्रवाहलाई प्राथमिकतामा राखेका हुन् ।
१५ वर्षदेखि बजारमा सक्रिय दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजले २ अर्ब रुपैयाँको अल्पकालीन ऋण सुविधाका लागि रेटिङ गराएको छ । केयर रेटिङ्स नेपालले यस कम्पनीको प्रस्तावित ऋणलाई ‘केयर–एनपी ए३’ रेटिङ प्रदान गरेको छ । हाल १८औं स्थानमा रहेको यस ब्रोकरले प्राप्त गर्ने ऋण मुख्यतः लगानीकर्तालाई मार्जिन ट्रेडिङ सुविधा उपलब्ध गराउन र कार्यशील पूँजी व्यवस्थापनमा परिचालन गर्ने योजना बनाएको छ ।

आर्थिक वर्ष २०८२/८३ मा ५४ अर्ब २६ करोड रुपैयाँको कारोबार गरेको यस कम्पनीको नेटवर्थ ५० करोड ३० लाख रुपैयाँ रहेको छ भने ऋणको भार न्यून देखिएकाले थप लगानीका लागि बलियो आधार तयार भएको छ । त्यस्तै, अर्को कलश स्टक मार्केटले १ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको छ ।
छोटो अवधिमै बजार हिस्सा १.१२ प्रतिशत पुर्याउन सफल यस कम्पनीलाई केयर रेटिङ्स नेपालले ‘केयर–एनपी ए४ प्लस’ रेटिङ दिएको छ । २०२४ देखि व्यावसायिक कारोबार सुरू गरेको कलशले आफ्नो ग्राहक संख्या करिब १७ हजार ३४० पुर्याएको छ ।
कम्पनीले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर आफ्ना ग्राहकलाई प्रिमियम दरमा मार्जिन सुविधा दिने रणनीति अपनाएको छ । स्टक एक्सचेन्जबाट मार्जिन कर्जा प्रवाहको स्वीकृति पाइसकेको यस कम्पनीको आम्दानीमा हाल ब्रोकर कमिसनको हिस्सा ९६ प्रतिशत रहे पनि आगामी दिनमा ब्याज आम्दानीले वित्तीय सन्तुलन मिलाउने अपेक्षा गरिएको छ ।
नेपाल राष्ट्र बैंकले मार्जिन लेन्डिङमा गरेको नीतिगत लचकता र धितोपत्र बोर्डले ल्याएको मार्जिन ट्रेडिङ निर्देशिकाका कारण ब्रोकर कम्पनीहरू यो सेवातर्फ आकर्षित भएका हुन्। यसअघि ब्रोकर कम्पनीहरू मुख्यतया कमिसनमा मात्र निर्भर हुने गरेकोमा अब मार्जिन ट्रेडिङमार्फत ब्याज आम्दानी समेत गर्न पाउने भएका छन्।
प्रकाशित मिति : August 23, 2026 at 2:51 pm


