७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

कलैयाबाट बेपत्ता २ वर्षीया बालिका सकुशल फेला

७ भदाै, काठमाडाैँ । शनिबार साँझदेखि बेपत्ता भएकी बाराको कलैया उपमहानगरपालिका–१, कटिपर्साकी २ वर्षीया बिन्दी मण्डल आइतबार बिहान सकुशल फेला परेकी छन्। स्थानीय मुकेश मण्डलकी छोरी विन्दी शनिबार साँझ ५:३० बजेतिर आफ्नै घरबाट बेपता भएकी थिइन् । बालिकालाई कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा स्थानीय एक महिलाले फेला पारेकी थिइन्।

dainiki.com

बालिकालाई तत्काल नालाबाट उद्धार गरी ती महिलाले आफ्नै घरमा लगेर हेरचाह गरेकी थिइन्।  जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक नरेन्द्र कुँवरको कमाण्डमा तालिमप्राप्त कुकुर सहितको सुरक्षा टोलीले रातभर बालिका खोजी अभियान चलाएको थियो ।

प्रहरीले उद्धार गरी ती बालिकाको स्वास्थ्य परीक्षण गर्न प्रादेशिक अस्पतालमा कलैयामा पठाएको थियो । उनको स्वास्थ्य अवस्था सामान्य रहेकाले सुरक्षित रुपमा परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : August 23, 2026 at 10:07 am