छोराको हत्या सहन नसक्दा आमाको मृत्यु : मलेसियामा रहेका बाबुमाथि दोहोरो वज्रपात
७ भदाै, घोराही । दुई छोराको भविष्य राम्रो बनाउने सपना बोकेर रोजगारीका लागि मलेसिया पुगेका दाङ घोराहीका रोमहर्ष कालाथोकीमाथि एकैपटक यस्तो बज्रपात परेको छ, जसको पीडा शब्दमा बयान गर्न कठिन छ।
काठमाडौँमा फ्रान्स जाने तयारी गरिरहेका २२ वर्षीय जेठो छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेको केही समयमै दाङमा रहेकी उनकी ३८ वर्षीया श्रीमती बिना कालाथोकीको पनि मृत्यु भएको छ। अब रोमहर्शसँग न त विदेश जाने तयारीमा रहेको छोरा छन्, न घर फर्कंदा पर्खिरहेकी श्रीमती।
घोराही उपमहानगरपालिका–१७ हरिद्वारस्थित जनप्रिय टोलमा रहेको घरमा शुक्रबार दिउँसो अचानक आएको एउटा खबरले कालाथोकी परिवारलाई शोकको गहिरो अँध्यारोमा धकेलेको हो।
काठमाडौँ महानगरपालिका–१० शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बस्दै आएका वसन्तमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको खबर घरसम्म पुग्दा उनकी आमा बिना घरमै थिइन् । छोरा मारिएको खबर सुन्नासाथ उनी विक्षिप्त बनेकी थिइन् । त्यसको केही समयमै उनले प्राण त्यागिन्।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठ दैनिकीसँग कुरा गर्दै वसन्तको हत्या भएको खबर पाएपछि दिउँसो करिब ३ बजेतिर बिनाको मृत्यु भएको पुष्टि गरे । घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली उनको घर पुगेको थियो ।

कानुनी प्रक्रिया पूरा गरी बिनाको शव सोही दिन घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याइएको छ । शव अहिले प्रतिष्ठानको शवगृहमा राखिएको छ। परिवारका अनुसार रोमहर्श मलेसियाबाट सोमबार नेपाल फर्कंदैछन् । उनी आएपछि मात्रै बिनाको पोस्टमार्टम गरिने तयारी छ।
प्युठानको बेलवासबाट बसाइँ सरेर दाङको घोराही आएको थियो कालाथोकी परिवार । घोराहीमा सामान्य आर्थिक अवस्थाबीच परिवारले आफ्नो जीवन अघि बढाइरहेको थियो। दुई छोराको भविष्य सुरक्षित बनाउने उद्देश्यले रोमहर्श वैदेशिक रोजगारीमा मलेसिया पुगेका थिए। तर परिवारलाई आर्थिक रूपमा उकास्ने उनको प्रयास अहिले अकल्पनीय पारिवारिक शोकमा परिणत भएको छ । एकातिर काठमाडौँमा छोराको शव छ। अर्कोतिर घोराहीमा श्रीमतीको शव।
भविष्य खोज्दै काठमाडौंमा थिए वसन्त
वसन्त परिवारको जेठो छोरा थिए। उनी रोजगारीका लागि फ्रान्स जाने तयारीमा थिए। त्यसैका लागि उनी काठमाडौँको होस्टलमा बसेर फ्रेन्च भाषालगायत आवश्यक तयारी गरिरहेका थिए। घर आउने–जाने गरिरहने वसन्त परिवारको आशा र भविष्यको एउटा ठूलो आधार बनेका थिए।
स्थानीयका अनुसार आर्थिक अवस्था सामान्य रहेको कालाथोकी परिवारका लागि छोरालाई विदेश पठाएर आर्थिक अवस्था सुधार्ने सपना थियो। यही सपनालाई पूरा गर्न रोमहर्श स्वयं मलेसियामा श्रम गरिरहेका थिए। तर परिवारको आर्थिक भविष्य बदल्ने तयारीमा रहेका वसन्त आफैँ परिवारबाट सदाका लागि टाढा भए।
होस्टलमै भयो विभत्स हत्या
वसन्तमाथि सोही होस्टलमा बस्दै आएका बारा कलैया–३ का २० वर्षीय प्रमित पटेल र १८ वर्षीय शेखर यादवले कुटपिट तथा धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उनीहरूले वसन्तको टाउको र घाँटीलगायत शरीरका विभिन्न भागमा प्रहार गरेका थिए ।
गम्भीर घाइते भई अचेत अवस्थामा भेटिएका वसन्तलाई उद्धार गरी उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भयो।
घटनामा संलग्न भएको आरोपमा शेखरलाई काठमाडौँबाटै र प्रमितलाई शनिबार मकवानपुरबाट प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। वसन्तको शव अहिले काठमाडौँमै छ।
यता दाङमा आमाको शव पनि अस्पतालको शवगृहमा छ। बुबा रोमहर्श भने दुई शवबीचको दूरी चिर्दै मलेसियाबाट नेपाल फर्कंदैछन्।
११ वर्षीय भाइले गुमाए आमा र दाजु
कालाथोकी परिवारमा अहिले ११ वर्षीय कान्छा छोरा शिशिर मात्रै बाँकी छन्। आमासँग घरमा बस्दै आएका शिशिरले केही समयको अन्तरालमै आमा र दाजु दुवै गुमाएका छन्। घटनापछि उनलाई नजिकै रहेका हजुरबुवाको जिम्मा लगाइएको घोराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीले दैनिकीसँग बताए ।
‘श्रीमान् मलेसियाबाट सोमबार मात्रै फर्कने भएकाले सबै काम रोकिएको छ,’ चौधरीले दैनिकीसँग भने, ‘आमासँग रहेका कान्छा छोरा शिशिरलाई नजिकै बस्ने उनका हजुरबुवाको घरमा राखिएको छ।’ उनका अनुसार वसन्तको हत्या भएको खबर बिनालाई घरमा एक्लै रहेका बेला पुगेको थियो।
प्रकाशित मिति : August 23, 2026 at 7:51 am


