ठेक्का सम्झौता रद्द भएका निर्माण व्यवसायीलाई बाँकी रकम बुझाउन ३५ दिने अल्टिमेटम
४ भदौ, काठमाडाैं । सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका विभिन्न निर्माण व्यवसायीलाई बाँकी रकम ३५ दिनभित्र दाखिला गर्न अन्तिम ताकेता गरेको छ।
ठेक्का अन्त्यपश्चात्को कारबाहीस्वरूप सार्वजनिक खरिद सम्झौता र सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(८) बमोजिम कायम भएको सरकारी बाँकी रकम दाखिला गराउन डिभिजनले पटक-पटक अनुराेध गरेकाे थियो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार रकम बुझाउन प्रयास गर्दा पनि हालसम्म दाखिला नभएकाले डिभिजनले बिहीबार सार्वजनिक सूचना जारी गर्दै रकम दाखिला गर्न आह्वान गरेको हो।
सूचनाअनुसार ठेक्का रद्द भएका निर्माण व्यवसायीहरूले ऐन र नियमावलीबमोजिम कायम भएको सरकारी बाँकी रकम नेपाल सरकारको नेपाल बैंक लिमिटेडमा रहेको राजस्व खातामा दाखिला गर्नुपर्नेछ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र तोकिएको राजस्व खाता नम्बर ००१०१००००००००१००१००१, राजस्व कोड नम्बर १४३१२ र कार्यालय कोड नम्बर ३३७०१०३०१ मा रकम जम्मा गरी सोको बैंक भौचर सडक डिभिजन कार्यालय इलाममा पेस गर्नुपर्नेछ।

प्रकाशित मिति : August 20, 2026 at 12:46 pm


