आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ भन्दै अमेरिका फर्किए धुर्मुस
४ भदौ, काठमाडौँ । पूर्व कलाकार सीताराम कट्टेल धुर्मुस अमेरिका फर्किएका छन । बिहीबार बिहान त्रिभुवन विमानस्थलमा छोरीसहित कैद गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफू आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको जनाका छन ।

उनले आफ्नो टिप्पणीमा १५ करोड बजेट लिएर ऋण तिर्न नेपाल आएको भए पनि त्यो सम्भव नभएको बताएका छन । धुर्मुसले भनेका छन, ‘न्यायको आशामा राज्यलाई गुहारेँ।
तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ । समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो । १८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।’
यस्तो छ धुर्मुसको टिप्पणी
यो पटक त १००% हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ।
दुई महिना…
अथक प्रयास गरेँ।
राज्यका ढोका–ढोका पुगेँ।
न्यायको आशामा राज्यलाई गुहारेँ।
तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ। समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो।
१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।
आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ।
देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।
१० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही रहेछ।
मन निकै भारी भएको छ।
ओठ कापेका छन्।
आँखा रसाएका छन्।
तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ।
कुनै दिन राज्यले सम्झिनेछ।
समयले सत्य बोल्नेछ।
हाम्रो पीडा सुनिनेछ।
त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ।
अनि मात्र हामीभित्रको देशभक्तिको भावनाको कदर हुनेछ।
र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन।
त्यही दिनको पर्खाइमा हामी रहनेछौँ।
चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा…
मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।
प्रकाशित मिति : August 20, 2026 at 8:26 am


