२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

नेपाल रेडक्रस सोसाइटीको भ्रष्टाचारमा संलग्न नुवाकोटका उमेश ढकालसहित पाँच जना पक्राउ

२ भदौ, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता तथा ठगी गरेको आरोपमा नुवाकोटका उमेशप्रसाद ढकालसहित पाँच जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ निकोसेराका ५२ वर्षीय राजेश देशमरु, नुवाकोट समुन्द्रटार स्थायी ठेगाना भई काठमाडौं–२६ बस्ने ५७ वर्षीय उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायण नगरपालिका–५ का ५८ वर्षीय मदनकृष्ण फोजु, उदयपुर कटारी–३ स्थायी ठेगाना भई हाल मध्यपुर थिमी–१ बस्ने ७० वर्षीय सञ्जिव थापा र काठमाडौं–१६ बालाजुका ६७ वर्षीय इन्द्रबहादुर केसी रहेका छन् ।

उनीहरूमाथि जग्गा खरिद प्रक्रियामा भएको भनिएको अनियमितता, ठगी तथा संस्थालाई पुर्‍याइएको हानि–नोक्सानीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट प्राप्त रेडक्रस सोसाइटीसम्बन्धी अनियमितता छानबिन प्रतिवेदनको अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुपम शम्शेर जबराले जनाएका छन ।

२२ भदौ २०७३ मा प्रकाशित सूचनाबमोजिम बोलपत्र आह्वान गरिएकोमा बोलपत्रमा उल्लेखित सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी ६ करोड ३२ लाख ८१ हजार २५० रुपैयाँ भुक्तानी गरिएको थियो । सो रकममध्ये १ करोड ९३ लाख ७५० रुपैयाँ बिचौलियाले लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, नापी कार्यालय भक्तपुरबाट जग्गाको क्षेत्रफल यकिन गराउँदा कागजातमा उल्लेख भएभन्दा कम अर्थात् ५ रोपनी ६ आना २ पैसा १ दाम मात्रै क्षेत्रफल रहेको पाइएको थियो । प्रहरीका अनुसार बोलपत्रको सर्तविपरीत बिचौलियामार्फत जग्गा खरिद गरी संस्थालाई हानि–नोक्सानी पुर्‍याएको र ठगी गरेको आरोपमा संलग्न व्यक्तिहरूविरुद्ध अनुसन्धान अघि बढाइएको हो ।

रेडक्रसको गोदाम घर सञ्चालनका लागि भक्तपुर नगरपालिका–४ स्थित कित्ता नम्बर ८६३, ४९६ र ४९७ को ५ रोपनी १३ आना ३ पैसा क्षेत्रफलको जग्गा खरिद गर्ने क्रममा अनियमितता भएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । भक्तपुर जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको सीआईबीले जनाएको छ ।

प्रकाशित मिति : August 18, 2026 at 7:42 pm