स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा सगुन पौडेल नियुक्त
२ भदाै, काठमाडाैँ । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन । नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गरेका पौडेलले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक एवं नेतृत्वदायी भूमिकामा काम गरेका छन ।
उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस तथा क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायतका संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन ।

स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास तथा कार्यान्वयन अनुसन्धान उनका प्रमुख कार्यक्षेत्र हुन् । शैक्षिक रूपमा पौडेलले बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स बाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका छन ।
उनले इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरेका हुन । यसका साथै उनले पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक गरेका छन ।
नवनियुक्त अध्यक्ष पौडेलले नेपाल स्वास्थ्य व्यवसायी परिषद्को नेतृत्व गर्दै स्वास्थ्य व्यवसायको गुणस्तर, व्यावसायिक मापदण्ड, नियमन तथा स्वास्थ्य व्यवसायीहरूको क्षमता विकासलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
प्रकाशित मिति : August 18, 2026 at 7:20 pm


