२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, नभए कारबाही हुने

२ भदाै, काठमाडाैं । सरकारले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल र विभिन्न एप वा वेबसाइटमार्फत व्यापार गर्ने (ई-कमर्स) व्यवसायीहरूलाई अनिवार्य रूपमा विभागमा सूचीकृत हुन निर्देशन दिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक जरुरी सूचना जारी गर्दै विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको कारोबार गर्ने सम्पूर्ण व्यवसायीलाई विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकृत हुन आग्रह गरेको हाे ।

विभागले जारी गरेको सूचनामा विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ तथा विद्युतीय व्यापार (ई–कमर्स) निर्देशिका, २०८२ अनुसार विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने जनाएको छ ।

ऐनको दफा २ को खण्ड (ज) अनुसार वेबसाइट, एप्लिकेसन, सफ्टवेयर, इन्टरनेट, सामाजिक सञ्जाल, मार्केटप्लेसलगायतका विद्युतीय उपकरण तथा माध्यमबाट सूचना संकलन, सम्प्रेषण वा आदान–प्रदान गरी वस्तु वा सेवाको कारोबार गर्ने प्रयोजनका लागि बनाइएको प्रणालीलाई ई–कमर्स प्रणालीका रूपमा लिइएको विभागले जनाएको छ ।

विभागका अनुसार विद्युतीय माध्यमबाट व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीले ऐनको दफा ४ बमोजिम अनिवार्य रूपमा विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्नेछ । त्यस्तै, ऐनको दफा ५ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको पोर्टलमा आफ्नो व्यवसाय सूचीकृत गर्नुपर्ने कानुनी व्यवस्था छ ।

हालको समयमा डिजिटल भुक्तानी र अनलाइन माध्यमबाट कारोबार गर्दा उपभोक्तामा भ्रम छर्ने, ठगी गर्ने तथा गुणस्तरहीन वस्तु वा सेवा बिक्री-वितरण गर्ने गुनासाहरू तीव्र रूपमा बढिरहेको विभागले जनाएको छ ।

सूचनाको बेवास्ता गरी सूचीकृत नभएका वा गैर-कानुनी विद्युतीय प्लेटफर्महरूबाट व्यवसाय सञ्चालन गरेको पाइएमा ई-कमर्स ऐन, २०८१ र अन्य प्रचलित कानुन बमोजिम कडा कानुनी कारबाही गरिने विभागले जनाएकाे छ ।

प्रकाशित मिति : August 18, 2026 at 1:08 pm