पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्चको आदेश
१ भदौ, काठमाडौँ । पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले रिहा गर्न परमादेश जारी गरेको हो । सर्वोच्चले उनलाई हाजिरी जमानीमा छाडी वा तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
‘थुनामै राखि मुद्दाको तहकिकात अनुसन्धान गर्नु पर्नेसम्मको अवस्थाको विद्यमानता नदेखिएकाले अनुसन्धान तहकिकात गर्नु पर्ने भए मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा १५ बमोजिम निवेदकलाई हाजिर जमानीमा छाडी वा तारिखमा राखी मुद्दाको अनुसन्धान गर्नू भनि विपक्षीमध्येको जिल्ला प्रहरी परिसर काठमाडौँको नाउँमा परमादेश जारी हुने ठहर्छ। सो बमोजिम गरेको जनाउ यस अदालतलाई दिनू’, आदेशमा भनिएको छ।

जनआस्था अनलाइनमा छापिएको एक समाचार र तस्बिरका सम्बन्धमा वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा श्रेष्ठलाई २०८३ साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो। जाहेरवालाले आफ्नो फेसबुकमा सार्वजनिक गरेको तस्बिर समाचारमा प्रयोग गरेको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको थियो ।
प्रकाशित मिति : August 17, 2026 at 7:52 pm


