भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौँमा
३१ साउन, काठमाडौं। भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुगेका छन् ।आइतबार अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमान मार्फत सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ । रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री शाहसँगको भेटमा दुई देशबीचको सुरक्षा सहकार्य तथा आपसी चासोका विषयमा छलफल हुने बताइएको छ । उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नेछन् ।
भारतको प्रधान सेनापतिको जिम्मेवारी सम्हालेको केही समयपछि नेपाल आएका सेठलाई सोमबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिने भएको छ । गत जुन ३० मा भारतीय सेनाको प्रधान सेनापतिको पद सम्हालेका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ । सोमबार राष्ट्रपति पौडेलले उक्त सम्मान प्रदान गर्नेछन् ।
प्रकाशित मिति : August 16, 2026 at 5:31 pm


