२९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको रिटमा सुनुवाइ हुँदै

२९ साउन, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालको इजलासमा पेशी चढेको हो । रिटमा श्रेष्ठलाई बिनाआधार र कारण पक्राउ गरी गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै तत्काल थुनामुक्त गर्न माग गरिएको छ ।

दीपिका सिंहको जाहेरीका आधारमा व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा श्रेष्ठलाई बुधबार राति प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका श्रेष्ठलाई बिहीबार अदालतमा उपस्थित गराइएपछि अनुसन्धानका लागि थप तीन दिनको म्याद दिइएको थियो ।

त्यसपछि श्रेष्ठकी पत्नीले गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन् । उक्त रिटमाथि आज हुने सुनुवाइबाट श्रेष्ठको थुनासम्बन्धी विषयमा अदालतको प्रारम्भिक आदेश आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : August 14, 2026 at 10:17 am