रवि–बालेनको ‘अयोग्यता’मै रमाएर पुराना दलको पुनरोदय सम्भव छैन : योगेश भट्टराई
२९ साउन, काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थालाई लिएर टिप्पणी गर्दै पुराना दल र नयाँ राजनीतिक शक्तिका नेतृत्वप्रति एकैसाथ प्रश्न उठाएका छन् ।
भट्टराईले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपाको जन्म नै एमाले, कांग्रेस र माओवादीजस्ता पुराना दलको ‘अकर्मण्यता’ र प्रमुख नेताहरूको ‘अयोग्यता’लाई आधार बनाएर भएको दाबी गरेका छन् । उनका अनुसार रवि लामिछाने र बालेन्द्र शाह (बालेन)लाई नेतृत्वमा स्थापित गर्दै रास्वपाले तत्काल उल्लेख्य राजनीतिक सफलता हासिल गरे पनि पार्टी निर्माणका लागि आवश्यक विचार, सिद्धान्त, नीति, वर्गीय तथा सामाजिक आधार तय गर्न नसक्दा उसको ‘शिखरबाट ओरालो यात्रा’ सुरु भएको हो ।
‘अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्’ भन्दै भट्टराईले रास्वपाको वर्तमान अवस्थाप्रति व्यंग्य गरेका छन् । उनले नेतृत्वमा टिकिरहन तथा शासन लम्ब्याउन बाहिर र भित्रका विरोधीमाथि बदला तथा प्रतिशोधको राजनीति आधार बन्न नसक्ने पनि बताएका छन् । यस्तो प्रवृत्तिले विगतमा कसैलाई काम नलागेको र अहिले पनि काम नलाग्ने उनको टिप्पणी छ ।

भट्टराईले रास्वपाको कमजोर बन्दै गएको अवस्थालाई लिएर पुराना दलका नेताहरूले पनि आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् । उनका अनुसार रास्वपाको ओरालो यात्रा तथा रवि लामिछाने र बालेनको ‘अयोग्यता’लाई मात्र आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठान्नु पुराना दलहरूको अर्को गम्भीर भूल हुनेछ ।
उनले पुराना दलहरूभित्र विगतका कमजोरीको समीक्षा, खस्किँदै गएको वर्गीय तथा सामाजिक आधारको पुनर्निर्माण, नेतृत्वको क्षमता र कमजोरीमाथि खुला बहस तथा नीति, विचार र संगठनको पुनर्गठन आवश्यक रहेको औंल्याएका छन् ।
भट्टराईले नेतृत्वका कमजोरी ढाकछोप गर्ने, समस्यालाई ‘कार्पेटमुनि’ छोप्ने र पार्टीभित्रको जयजयकार गर्ने भीडलाई नै लोकप्रियता तथा शक्तिको स्रोत ठान्ने प्रवृत्तिले पुराना दलहरूलाई थप संकटमा पार्न सक्ने चेतावनी दिएका छन् ।
उनको निष्कर्षमा, रास्वपाको कमजोर अवस्था देखेर पुराना दलहरू आत्मरतीमा रमाउनुको सट्टा आफ्नै राजनीतिक संकटको गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ । अन्यथा रास्वपाको ओरालो यात्राबाट पुराना दलहरूले पाठ सिक्नुको साटो उही गल्ती दोहोर्याउने खतरा रहनेछ ।

प्रकाशित मिति : August 14, 2026 at 9:49 am


