हिमालयन रि–इन्स्योरेन्सको २ अर्ब ७३ करोड घोटला : रोहित गुप्ता जेल चलान
२९ साउन, काठमाडौँ । विशेष अदालतले हिमालयन रि–इन्स्योरेन्स कम्पनीको रकम शेयर कारोबारमा दुरुपयोग गरेको आरोपमा प्रतिवादी बनाइएका रोहित गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
विशेष अदालतका सदस्यद्वय न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले गुप्ताको हकमा तत्काल प्राप्त प्रमाणबाट कसूरमा संलग्नताको अवस्था देखिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। आदेशमा भनिएको छ, ‘पछि प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको पुर्पक्षको लागि निज प्रतिवादी रोहित गुप्तालाई थुनामा राख्न विशेष अदालत नियमावली, २०८० को नियम ३०(१) बमोजिम थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाईदिनू ।’
अदालतले गुप्ता हिमालयन रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक सदस्य रहेको अवस्थामा भृकुटी स्टक ब्रोकिङ प्रालिलाई विभिन्न मितिमा पत्रमार्फत माग भएअनुसार कम्पनीबाट पटक–पटक गरी २ अर्ब ७३ करोड ३३ लाख १५ हजार १६० रुपैयाँ ५ पैसा उपलब्ध गराइएको देखिएको आदेशमा उल्लेख गरेको छ।

त्यसैगरी, सहप्रतिवादी शेखर गोल्छाले अदालतमा बयानका क्रममा रोहित गुप्तासमेतको सल्लाहमा शेयर कारोबार गर्न भृकुटी ब्रोकिङलाई ५२ करोड ५० लाख रुपैयाँ दिएको र उक्त रकम फिर्ता नभएको उल्लेख गरेको अदालतले जनाएको छ । गुप्ताले अनुसन्धानका क्रममा समेत शेखर गोल्छालगायतसँग सल्लाह गरी ब्रोकर नम्बर ५५ लाई ५२ करोड ५० लाख रुपैयाँ दिएको स्वीकार गरेको अदालतको आदेशमा उल्लेख छ।
भृकुटी स्टक ब्रोकिङका सञ्चालक सन्दीप चाचन अग्रवालको बयानबाट समेत दीपक भट्टसँग शेयर कारोबार रहेको र रोहित गुप्तासमेतबाट कम्पनीको खातामा रकम आएको खुलेको अदालतले जनाएको छ। आदेशमा भनिएको छ, ‘प्रतिवादी रोहित गुप्ताले आज यस अदालतसमक्ष बयान गर्दा आरोपदावी अनुसारको कसूरजन्य कार्य आफूले नगरेको भनी आरोपित कसूरमा इन्कार रही बयान गरेको भएता पनि अनुसन्धानको क्रममा संकलित विवरण एवं कागजातहरुबाट, यी प्रतिवादी हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक सदस्य रहेको अवस्थामा भृकुटी स्टक ब्रोकिङ प्रा.लि. (ब्रोकर नं. ५५) ले विभिन्न मितिमा पत्र लेखी माग गरे अनुसार हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडबाट पटक-पटक गरी उक्त ब्रोकर कम्पनीलाई रु. २,७३,३३,१५,१६०।०५ बराबरको रकम उपलब्ध गराएको देखिन्छ। सह-प्रतिवादी शेखर गोल्छाले यस अदालतमा बयान गर्दा रोहित गुप्ता समेत संगको सल्लाहमा शेयर कारोबार गर्न भनी भृकुटी ब्रोकिङ प्रा.लि.लाई रु. ५२,५०,००,०००।- रकम दिएको र उक्त रकम फिर्ता नभएको भन्ने समेत उल्लेख गरेको देखिन्छ। यी प्रतिवादी रोहित गुप्ताले अनुसन्धानको क्रममा बयान गर्दा समेत आफुले शेखर गोल्छा समेतका मानिससँग सल्लाह गरी ब्रोकर नं. ५५ लाई रु. ५२,५०,००,०००।- रकम दिएको भनी स्वीकार गरेको देखिन्छ।’
अदालतका अनुसार रोहित गुप्ताको भृकुटी ब्रोकिङमा टीएमएस खाता रहेको नदेखिए पनि हिमालयन रि–इन्स्योरेन्सबाट भृकुटी ब्रोकिङमा गएको ठूलो रकमबाट हिमालयन रि–इन्स्योरेन्सकै नाममा शेयर खरिद भएको नखुलेको र उक्त रकम कम्पनीमा फिर्ता आएको समेत नदेखिएको छ।
अदालतले हिमालयन रि–इन्स्योरेन्सले आफूले खरिद गर्न पाउने सीमाभन्दा बढी रकमको शेयर खरिद गर्न भृकुटी ब्रोकिङमा रकम दाखिला गरेको देखिएको समेत उल्लेख गरेको छ।
यस्तै, गुप्तासमेत सञ्चालक सदस्य रहेको टेली डिरेक्ट प्रालिको समेत हिमालयन रि–इन्स्योरेन्समा शेयर रहेको तथ्यलाई अदालतले आधार मानेको छ।
यी आधार प्रमाणलाई दृष्टिगत गर्दा गुप्ताको हकमा विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (ङ) बमोजिमको अवस्था विद्यमान रहेको अदालतको ठहर छ। त्यसैले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी मुद्दाको पुर्पक्षका लागि गुप्तालाई थुनामा राख्न आदेश दिइएको हो। अदालतले गुप्तालाई थुनुवा पुर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेश दिएको छ।
शुभेच्छा खरेललाई १० लाख धरौटी
सोही मुद्दामा प्रतिवादी बनाइएकी शुभेच्छा खरेललाई भने अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। हिमालयन रि–इन्स्योरेन्समा सर्वसाधारण शेयरधनीका तर्फबाट सञ्चालक सदस्य रहेकी खरेलको हकमा कम्पनीको रकम भृकुटी ब्रोकिङमा गएको देखिए पनि उक्त रकमबाट हिमालयन रि–इन्स्योरेन्सको नाममा शेयर खरिद भएको नदेखिएको अदालतले जनाएको छ।
त्यस्तै, ब्रोकरमा गएको रकम कम्पनीमा फिर्ता आएको समेत नखुलेको तथा अनुसन्धान सुरु भएपछि खरेलले कम्पनीको सञ्चालक पदबाट राजीनामा दिएको तथ्यलाई समेत अदालतले आधार मानेको छ।
विशेष अदालत ऐन, २०५९ को दफा ७ को खण्ड (घ) को अवस्था विद्यमान रहेको भन्दै अदालतले खरेलबाट १० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिएर तारिखमा राख्न आदेश दिएको हो। धरौटी वा बैंक जमानत दिन नसके उनलाई समेत थुनामा पठाउन आदेशमा भनिएको छ।
आदेशमा भनिएको छ, ‘पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी शुभेच्छा खरेलको पदीय हैसियत र भूमिका समेतलाई दृष्टिगत गरी यी प्रतिवादीबाट नगद धरौटी रु.१०,००,०००।- (अक्षरुपी दश लाख रुपैयाँ) वा सो बराबरको बैंक जमानत लिई निजलाई तारिखमा राखी प्रस्तुत मुद्दा पुर्पक्ष गर्नू। उल्लिखित माग गरिएको धरौटी रकम वा बैंक जमानत नदिए विशेष अदालत नियमावली, २०८० को नियम ३० को उपनियम (२) बमोजिम निज प्रतिवादीलाई थुनुवा पुर्जी दिई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनू।’
रोहित गुप्तासहितका प्रतिवादीविरुद्ध भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा मुद्दा अघि बढाइएको हो। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षसम्बन्धी आदेश गरेको हो।




प्रकाशित मिति : August 14, 2026 at 9:10 am


