२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

पुजारीसमेत मिलेर मन्दिरको जग्गा व्यक्तिको नाममा, ९ जनाविरुद्ध मुद्दा

२८ साउन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीको धरानस्थित नरसिंह भगवान मन्दिरको नाममा रहेको १० कठ्ठा ५ धुर सार्वजनिक जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा नामसारी गरी बिक्री गरेको आरोपमा तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत खतिवडासहित ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं. १४ दुईधारेमा रहेको मन्दिरको साविक भादगाउँ सिनवारी गाभिएका क्षेत्रमा पर्ने कित्ता नम्बर १ को ५ कठ्ठा ७ धुर र कित्ता नम्बर ४ को ४ कठ्ठा १८ धुर गरी कुल १० कठ्ठा ५ धुर जग्गा गैरकानुनी रूपमा हडपेको अनुसन्धानबाट खुलेको हो।

यस प्रकरणमा तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडा, साविक सिंसगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव कपिलमणि दाहाल, मालपोत कार्यालय सुनसरीका तत्कालीन मालपोत अधिकृत सुशील वैद्य, शाखा अधिकृत टुङ्गनाथ भण्डारी, नायब सुब्बा केदारबहादुर कार्की, धरान–१४ का तत्कालीन वडा सचिव उत्तम आले, मन्दिरका तत्कालीन पुजारी बटुरु चौधरी र स्थानीय जग्गा कारोबारी पंकज घिमिरेलगायतविरुद्ध आरोपपत्र दायर गरिएको हो।

आयोगले आर्थिक वर्ष २०८२/८३ को न्यूनतम मूल्यांकनअनुसार उक्त सार्वजनिक जग्गाको मूल्य ३६ लाख १० हजार रुपैयाँ रहेको जनाएको छ। सो जग्गा पछि बिक्रीसमेत गरिएको अनुसन्धानबाट खुलेको आयोगको दाबी छ।

आयोगले खतिवडा, दाहाल तथा मालपोत कार्यालयका कर्मचारीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी तथा गलत प्रतिवेदन दिएको आरोपमा ३६ लाख १० हजार रुपैयाँ बिगो कायम गरी कैद, जरिवाना र बिगो असुलउपर गर्न मागदाबी गरेको छ ।

सिंगिया गाविसका तत्कालीन अध्यक्ष/सचिव दाहालले जग्गा नामसारीका लागि कागजात मिलाउन सहयोग गरेबापत पुजारी चौधरीबाट ५ हजार रुपैयाँ घुस लिएको समेत अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : August 13, 2026 at 6:02 pm