किशोर श्रेष्ठ पक्राउबारे प्रेस काउन्सिलले के भन्यो ?
२८ साउन, काठमाडौं । प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउबारे धारणा सार्वजनिक गरेको छ । काउन्सिलका प्रवक्ता दीपक खनालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै पत्रकार श्रेष्ठको पक्राउ र जनआस्था साप्ताहिकको कार्यालय खानतलासीबारे गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
बुधबार श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनको घरमा समेत खानतलासी गरेको थियो। ‘आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी उहाँको निजी निवास खानतलासी भएको र आज बिहानै उक्त सञ्चार माध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
काउन्सिलले कुनै सञ्चार माध्यम तथा पत्रकारले आफ्नो व्यावसायिक आचारसंहिता उल्लंघन गरेका काउन्सिलमा उजुरी दिन सक्ने कानुनी व्यवस्था रहेको पनि स्मरण गराएको छ।
सो अनुसार काउन्सिलसँग स्वअनुगमन, मेलमिलाप, सचेत गराउने, प्रेस पास निलम्बन गर्ने वा कालोसूचीमा राख्नेसम्मका कारबाही गर्ने अधिकार रहेको विज्ञप्तीमा भनिएको छ।
त्यस्तै सञ्चारकर्मको क्रममा पत्रकार र सञ्चारकर्मीबाट प्रस्तुत हुने कार्यशैली र पेसागत मर्यादाप्रति पनि काउन्सिल उत्तिकै चिन्तित रहेको विज्ञप्तीमा उल्लेख छ।
‘अत: काउन्सिलले आफ्नो क्षेत्राधिकारभित्र रहेर दुवै दृष्टिकोणबाट पत्रकार र सञ्चारमाध्यमको अनुगमन गर्दै आएको विषयलाई मध्यनजर गरी कुनै समाचारको विषयमा चित्त नबुझे काउन्सिलमा उजुरी दिन सरोकारवाला सबै पक्षमा विनम्र अनुरोध गर्दछ,’ काउन्सिलले भनेको छ ।

प्रकाशित मिति : August 13, 2026 at 3:51 pm


