२८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026

रोल्पा थवाङमा पहिरोमा तीन जनाको मृत्यु, ९ बेपत्ता

२८ साउन, काठमाडाैं । रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा गएराति गएको पहिरोमा परी तीन जनाकाे मृत्यु भएको छ । अविरल वर्षाका कारण माथिबाट आएको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित करिब छ घर तथा गोठ पुरेको थियो।

जिल्ला प्रहरी कार्यालय रोल्पाले दिएको जानकारी अनुसार पहिरोमा परेर थबाङ गाउँपालिका-५ का ६० वर्षीय कमलबहादुर पुनमगर, १८ वर्षीय शान्ती पुन मगर र ७१ वर्षीया मनरखी पुनमगरको मृत्यु भएको छ ।

पहिरोमा परेर २२ वर्षीय हिमाल पुनमगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरूलाई थप उपचारका लागि अस्पताल पठाउने पहल भइरहेको छ।

प्रहरीका अनुसार पहिरोमा अझै नौ जना बेपत्ता छन्। बेपत्ता हुनेमा जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनि पुन मगर र ६७ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

बिहीबार बिहानैदेखि घटनास्थलमा ठूलो संख्यामा उद्धार टोली परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रहरी कार्यालय रोल्पाबाट प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको कमान्डमा विपद् उद्धार सामग्रीसहितको टोली खटिएको छ।

त्यसैगरी नेपाली सेनाको श्री सूर्यदल गण रोल्पाबाट प्रमुख सेनानी दीपेश खड्काको कमान्डमा टोली तथा सशस्त्र प्रहरी बल आश्रित गुल्म रोल्पाबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमान्डमा टोली घटनास्थल पुगेको छ। इलाका प्रहरी कार्यालय थबाङबाट प्रहरी निरीक्षक रामचन्द्र बगालेको कमान्डमा प्रहरी टोली पनि उद्धारमा खटिएको छ।

प्रकाशित मिति : August 13, 2026 at 11:53 am