२७ श्रावण २०८३, बुधबार | Wed Aug 12 2026

सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई लगानीको वातावरण बनाउने होः अध्यक्ष श्रेष्ठ

२७ साउन, काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आफैं उद्योग सञ्चालन गर्नेभन्दा निजी क्षेत्रलाई लगानीका लागि अनुकूल वातावरण, नीति र सहुलियत उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।
मंगलबार नाइमा मोबिलिटी एक्स्पो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सम्भावित एसेम्बलिङ उद्योग स्थापनाका लागि सरकारले आवश्यक नीति, पूर्वाधार र सहुलियतको व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

तर, सरकारले आफैं उद्योग चलाउने र निजी क्षेत्रलाई प्रतिस्पर्धा गर्न मात्र भन्ने नीति उपयुक्त नहुने धारणा राख्नु भयो । ‘सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउने हो । त्यसको इकोसिस्टम तगार गर्ने हो । निजी क्षेत्र लगानीका लागि तयार छ । तर सरकारी उद्योगलाई नगद पैसा खन्याएर निजी क्षेत्रलाई त्यतिकै काम गर भन्ने कुराको हामी समर्थन गर्न सक्दैनौं,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो । नेपालमा एसेम्बलिङ उद्योग स्थापना गर्न विगतदेखि नै निजी क्षेत्रले सरकारसँग आग्रह गर्दै आएको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले अझै पनि राजश्व संकलनको दृष्टिकोणबाट मात्र हेर्ने गरेको गुनासो गर्दै सवारी साधनलाई अत्यावश्यक साधनका रूपमा बुझेर त्यसअनुसार पूर्वाधार र नीतिगत व्यवस्था गर्नुपर्ने बताउनु भयो । ‘आजभन्दा २० वर्षअघि कति सवारी साधन थिए र अहिले कति पुगेका छन् ? त्यसअनुसार काठमाडौं उपत्यकाको सडक पूर्वाधार कति विस्तार भयो ?’ प्रश्न गर्दै उहाँले सवारी साधनको संख्या बढ्दै गए पनि सडक पूर्वाधार विस्तार र वैकल्पिक व्यवस्थापनका विषय कागजमै सीमित रहेको बताउनु भयो ।

सडक पूर्वाधारसँगै ट्राफिक व्यवस्थापनमा समेत सुधार आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सवारी साधनको संख्या बढेअनुसार सडक विस्तार तथा वैकल्पिक यातायात व्यवस्थापन गर्न नसक्दा ट्राफिक समस्या बढ्दै गएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सडक दुर्घटनालाई चालक वा सवारी साधनको कमजोरीका रूपमा मात्र हेर्न नहुने बताउँदै दुर्घटना न्यूनीकरणका लागि सुरक्षित र गुणस्तरीय सडक पूर्वाधार र ट्राफिक जनशक्ति थप गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने धारणा राख्नु भयो ।

अटोमोबाइल क्षेत्रसँग सम्बन्धित नीति तथा निर्णय गर्दा सरकारले व्यवसायी र सरोकारवालासँग पर्याप्त छलफल नगर्ने गरेको भन्दै अध्यक्ष श्रेष्ठले सरकार परिवर्तनसँगै नयाँ–नयाँ निर्णय आउने प्रवृत्तिले व्यवसायमा अनिश्चितता सिर्जना गर्ने गरेको बताउनु भयो ।

अध्यक्ष श्रेष्ठले नीतिगत स्थिरता, निजी क्षेत्रसँगको परामर्श र लगानीमैत्री वातावरण बिना अटोमोबाइल क्षेत्रको दिगो विकास सम्भव नहुने उल्लेख गर्दै सरकारको भूमिका उद्योग सञ्चालन गर्नेभन्दा पनि निजी क्षेत्रलाई लगानी, उत्पादन र रोजगारी सिर्जनाका लागि आवश्यक वातावरण तयार गर्ने हुनुपर्नेमा उनले जोड दिनुभयो । साथै उहाँले नेपाललाई हरेक वस्तु आयात गरि डम्पिङ साइट बनाउन नहुने भन्दै देशकै उद्योगहरुको प्रर्वद्धनमा जोड दिन सरकारलाई आग्रह गर्नु भयो ।

प्रकाशित मिति : August 12, 2026 at 5:05 pm